काठमाडौं- दाङका वसन्त बुढाथोकी बीबीए अध्ययन गर्न युक्रेन गएको दुई महिना मात्रै भएको थियो। उनले सोचेका थिए- पढाइ सँगसँगै काम पनि गरौंला, केही पैसा कमाउँला। युक्रेन आउँदा लागेको ऋण पनि चाँडै तिरौंला। विडम्बना- युक्रेनमाथि रुसी सेनाको बमगोला बर्सियो, सँगै वसन्तको सपनामाथि पनि। चोइटिएका सपना संगाल्ने त स्थिति नै थिएन, बल्ल बल्ल जीवन जोगियो।
'म्यारीपुल ह्युमानिटिज युनिर्भसिटी’ मा भर्ना भएका उनले युक्रेन गएको दुई महिनामै निकै ठूलो कष्टको सामना गर्नुपर्यो। २२ फेब्रुअरी २०२२ मा उनी बस्ने होस्टलबाट करिब एक किलोमिटर पर ड्याङडुङ आवाज आयो। त्यो आवाज अरु केहीको नभएर रुसले युक्रेनमाथि खसालेको बमको थियो। अहिले रुसले युक्रेनभरका विभिन्न सहरहरुमा आक्रमण जारी राखेको छ। रुसको आक्रमणसँगै त्यहाँका नागरिक र वसन्तजस्तै विदेशबाट गएकाहरुको भागाभाग मच्चिरहेको छ।
वसन्त पनि युक्रेनबाट छोड्न चाहान्थे। तर, विद्यार्थी मान्छे, कहाँ जाने-के गर्ने उनले मेलोमेसो नै पाएनन्। ‘पहिलो दिन त केही मेलोमेसो नै पाइनँ। भोलिपल्ट बेलुका म्यारीपुलबाट केही साथीहरुसहित किभ जान ट्रेन चढ्यौं, २४ फेब्रुअरी बिहान ४ बजे युक्रेनको किभमा पुगेका थियौं,’ उनले सुनाए, ‘किभबाट फेरि बस चढेर लभिभ पुग्यौं। लगभग ४० किलोमिटर हिडेर युक्रेनको सीमामा आइपुगेका थियौं।’
युरोपजस्तो ठाउँमा पढिएला कमाइएला भनेर निकै दुःखका साथ आइपुगेको थिएँ। यहाँ आउँदा ८ लाख खर्च भएको थियो। अब त्यो पैसा नतिरी कसरी फर्किनु घर?
वसन्तका अनुसार सीमामा ३० किलोमिटर वरबाटै लाइन बस्नुपरेको थियो। ‘सीमासम्म पुग्न यति दुःख भोगियो भनेर साध्य छैन्, बाटोमा पाउरोटी र पानी समेत बल्लतल्ल खान पाइन्थ्यो। त्रासै त्रासमा हिड्नु पर्थ्यो। हिँड्दा हिँड्दा खुट्टा सुनिएर भक-भक फुलेको थियो,' उनले आफ्नो पीडा सुनाए।
‘बाटोमा पाँच दिनसम्म सोडा हालेको चिसो पानी र पाउरोटी मात्रै खान पाइयो। सोडा हालेको चिसोपानीले बमिट आउँथ्यो, बाच्नकै लागि भए पनि खानु पर्ने बाध्यता थियो। पाउरोटी र सोडा हालेको पानीले कस्तो हुन्छ शरीर त्यो पनि पाँच दिनसम्म?,’ उनले भने।