काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ। नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन्।
उक्त कुराकानीका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको हो। उक्त संवादका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको विदेश मन्त्री ब्लिन्केनले ट्विटरमार्फत जनाएका छन्।
रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रतिको अमेरिकाको समर्थनबारे नेपालका प्रधानमन्त्री देउवासँग कुराकानी भएको आफ्नो ट्विटरमा उल्लेख गरेका छन्। साथै, विदेश मन्त्री ब्लिन्केनले दुई जनाबीचको संवादमा आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा सँगै मिलेर काम गर्न जारी राख्ने विषयमा छलफल भएको पनि प्रस्ट पारेका छन्।
नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अमेरिकाबाट निरन्तर सहयोग रहेको उल्लेख गरेका थिए।
नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो। अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो।
विगत ४ वर्षदेखि एमसीसी सम्झौता के हुने भनेर नेपालमा छलफल र बहसमात्र भइरहँदा अमेरिका असन्तुष्ट भएको थियो। रुसले युक्रेनमाथि गरिहेको आक्रमण र नेपालमा एमसीसी सम्झौता अनुमोदन भएको परिप्रेक्ष्यमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवासँग कुराकानी गरेका हुन्।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022