बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानूनमन्त्रीको राजिनामा, ओलीलाई 'न्याउरी मारी' पछुतो

कानूनमन्त्रीको राजिनामा, ओलीलाई 'न्याउरी मारी' पछुतो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
टिप्पणी-
काठमाडौं- कानून मन्त्री शेरबहादुर तामाङले केही दिनअघि बंगलादेशमा अध्ययनरत छात्राहरूको विषयमा दिएको अभिव्यक्तिका कारण मंगलबार राजिनामा दिए। यो सरकारमा रहेर मिडियामैत्री र सबैसँग राम्रो व्यवहार गर्ने तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा फरक स्वभावका थिए। तर, पार्टीभित्र र बाहिरको दबाबमा उनलाई राजिनामा दिन बाध्य पारियो।
 
उनलाई चिन्ने र बुझ्नेले उनको अभिव्यक्तिले महिलाको अपमान गर्छ भन्ने कुरा कल्पनासम्म गर्न सक्दैनन्। उनले बोलेका कुरा ठीक थियो तर सत्य एकातिर थियो, भीड अर्कोतिर। त्यही शब्द बोलेका आधारमा यसैगरी राजिनामा दिने हो भने सरकारले एउटा राजिनामा विभाग नै गठन गर्नुपर्ने देखिन्छ।
 
ओली क्याबिनेटमा थोरै संख्यामा भलाद्‍मी मन्त्री छन्, जसमा तामाङ पनि एक हुन्। उनले १ भदौदेखि पुरानो मुलुकी ऐन विस्थापित गरेर नयाँ लागू गर्ने तयारी गरेका थिए। न्यायाधीशको सम्पति छानविन गरेका थिए। त्यसलाई लिएर विपक्षीले न्यायालयमा सरकारले हस्तक्षेप गर्‍यो भनेर कोकोहोलो मच्चाएका थिए। तर, सम्पत्ति छानविन गर्दा कसरी हस्तक्षेप हुन्छ भन्दै उनले त्यसलाई वास्ता गरेका थिएनन्।
 
उनले बोलेको कुरा सत्य भए पनि उनको त्यो अभिव्यक्ति आउनु हुँदैनथ्यो। उनी दुर्गा प्रसाईंजस्ता नागरिक मात्र होइनन्, सरकारका कानून मन्त्री पनि हुन्। उनले सोमबार नै प्रेस विज्ञप्ति निकालेर आफूले बोलेको कुराको आत्मालोचना गरेका थिए। तर पनि, उनलाई राजिनामा दिन बाध्य पारियो। उनले आत्मालोचना गरिसकेपछि राजिनामा किन गराइयो? यसमा के-के खेल भए? त्यो विस्तारै बाहिर आउला।

उनी यो सरकारमा यसकारण लायक थिए कि कानून मन्त्री कानून विषय पढेका थिए। अर्को, उनी सधैं लोकप्रिय रहँदै चुनाव जित्दै आएका छन्। पछाडि परेको तामाङ समूदयका नेता हुन्। तर, उनको अभिव्यक्तिका कारण राजिनामा दिइहाल्नुपर्ने अवस्था कताबाट सृजना गरियो?
 
गैरजिम्मेवार तरिकाले बोल्ने र उत्ताउलो व्यवहार गर्ने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा ओलीको निजी निवास बाल्कोटमा बस्छन्। उनी शुरुमै टेलिभिजन कार्यक्रममा विवादमा परे। उनले त्यही बेला राजिनामा दिनुपर्ने थियो। तर, राजिनामा दिएनन्। किनकि, उनी प्रधानमन्त्री ओलीको निवास बाल्कोटमा बस्छन्। अर्थात्, उनी शिवको गलाका सर्प भएजस्तै गरी बसेका छन्। उनले प्रधानमन्त्री ओलीको हरेक आलोचनाको प्रतिकार गर्छन् र गलत कदमको पनि बचाऊ गरिरहेका हुन्छन्। 

त्यत्रो विवादमा तानिएका सञ्चारमन्त्री अहिले झण्डा हल्लाएर हिँडेका छन्। तर, त्यति भलाद्‍मी शेरबहादुर सडकमा आएका छन्। यसलाई कलिको बिडम्बनाभन्दा पनि फरक पर्दैन। सडकमा झर्नुपर्ने मन्त्री सरकारमा छन्। 

सरकारमा हुनुपर्ने अब यसैगरी सडकमा झर्दै जानेछन्। किनकि, गोकुल बाँस्कोटसँग चरित्र मिल्नेहरूको अब सरकारमा विस्तारै बाहुल्यता हुनेछ। शेरबहादुरजस्ता भलादमीहरू बाँस्कोटाजस्ता गैरजिम्मेवार भएकाको क्याबिनेटमा टिक्ने छैनन्। शायद शेरबहादुर पनि ओली निवास बालकोटमा बसेको भए यो नियति भोग्नुपर्ने थिएन।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले एकदिन महशुस गर्नेछन् कि शेरबहादुरलाई राजिनामा दिन बाध्य पारेर गल्ति गरिएछ। अनि, उनले आफ्ना आसेपासेलाई मात्र मन्त्री बनाएर समृद्धि नआउने रहेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।