काठमाडौं- विश्वक फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबल महासंघ यूएईफएले रसियाका सबै फुटबदल क्लबमाथि प्रतिबन्ध लगाएको छ। रसियाको फुटबल क्लबमात्र नभएर राष्ट्रिय टिम पनि प्रतिबन्धमा राखिएको हो।
अब रसियन क्लब र राष्ट्रिय टिमले फिफा र यूएईफएका अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएका छन्। रसियाले युक्रेनमा हमला गरेका कारण उसले प्रतिबन्ध भोग्नु परेको हो।
यससँगै अब रसियन फुटबल टिमले विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल्न नपाउने भएको छ भने महिला टिमले पनि समर युरो २०२२ को प्रतियोगिता खेल्न नपाउने भएको हो। रुसले अर्को महिना विश्वकप छनोटको प्ले अफ खेल्दैछ।
त्यस्तै, स्पार्टक मस्कोले पनि अब यूरोपा लिग खेल्न पाउने छैन। यससँगै उसको प्रतिद्वन्दी आरबी लाइप्जिक अर्को चरणमा पुग्ने भएको छ।
‘फुटबल यहाँ पूर्ण रूपमा एकजुट छ र युक्रेनमा प्रभावित सबै मानिसहरूसँग पूर्ण ऐक्यबद्धता जनाएका छौं,’ फिफा र यूईएफएले संयुक्त विज्ञप्तिमा लेखेका छन, ‘दुबै राष्ट्रपतिहरू आशा गर्दछन् कि युक्रेनको स्थितिमा उल्लेखनीय र द्रुत रूपमा सुधार हुनेछ जसले फुटबल फेरि जनताको बीचमा एकता र शान्तिको लागि कारक बन्नसक्छ।’