काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणबाट २ हजार ४३० जना र एन्टिजेन परीक्षणबाट १ हजार २ ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १५ हजार ६७५ परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८८५ जना कोरोनामुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ।
नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १० हजारभन्दा बढी पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार शुक्रबारसम्ममा कोरोना संक्रमित मृतकको संख्या १० हजार १९ पुगेको हो।
नेपालमा पहिलो पटक ०७७ जेठ ३ गते धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको थियो। नेपालमा कोरोना संक्रमणको पहिलो लहर भन्दा दोस्रो लहरमा बढी मानिसको मृत्यु भएको थियो।