आइतबार, वैशाख ७, २०८२

'कोरोना महामारी अब भयावह हुने सम्भावना कम छ'

नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतमा झरेको छ। तेस्रो भेरियन्ट अर्थात ओमिक्रोनको समयमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हाल पाँच प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
 |  शुक्रबार, फागुन १३, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, फागुन १३, २०७८

vianetvianet

काठमाडौं- नेपालमा कोरोना संक्रमणदर पाँच प्रतिशतमा झरेको छ। तेस्रो भेरियन्ट अर्थात ओमिक्रोनको समयमा ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर हाल पाँच प्रतिशतमा झरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। कोरोना संक्रमण सुरु भएदेखि नेपालमा हालसम्म ११ लाख १५ हजार ६ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने ११ हजार ९३१ जनाको मृत्यु भएको छ। 

triton college

अहिले कोरोना संक्रमण घट्दो क्रममा छ। गत हप्ता गरिएको कुल ५८ हजार ७ सय ६२ पिसिआर परीक्षणमा ५ हजार ४ सय २८ नमुनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यो हप्ता ४० हजार ८ सय ८२ परीक्षण गर्दा १ हजार ७ सय ६७ नमुनामा संक्रमण पुष्टि भयो। यो संक्रमण ४.३ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणदर कम भए पनि जोखिम भने कम भएको छैन। 

विज्ञहरू पनि कोरोना संक्रमणको तेस्रो लहरले पार गरेको बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘हामीले अब लगभग तेस्रो लहर पार गर्यौ, तर यसो भन्दै गर्दा यसको म्युटेसन हुँदैन भन्ने चाहिँ होइन, हामीसँग जोखिम कायमै छ। यो भेरियन्ट भन्दा अगाडि पनि दुई वटा लहर सकिएर म्युटेसन हुँदै यो अवस्था आएको हो। तसर्थ आगामी दिनमा पनि यो आफ्नै तरीकाले म्युटेसन हुने कुरालाई नकार्न सकिँदैन।’

तर, म्युटेसन भएता पनि पहिलो र दोस्रो लहरमा जस्तो समस्या नआउने उनी बताउँछन्। 'म्युटेसन भए पनि खराब म्युटेसन नै हुन्छ भन्ने होइन,' उनी थप्छन्, ‘पहिलो कुरा, ओमिक्रोन एकदमै धेरै म्युटेसन भएर विश्व नै तरङ्गित भएको समयमा पनि डेल्टाभन्दा खराब भएर आएन। दोस्रो कुरा हामी थाहा पाएर वा नपाएर ८० प्रतिशतभन्दा धेरै संक्रमित भइसकेको अवस्था छ। त्यसैले पनि अब संक्रमित हुँदा शरीरले केही न केही प्रतिक्रिया जनाउँछ। शरीरले पनि भाइरसविरुद्ध एन्टिबडी उत्पादन गरिसकेकाले संक्रमणको बढी जोखिम हुँदैन।’

नेपालमा हाल कोभिडविरुद्धको खोप लगाउनेको संख्या पनि बढिरहेको छ। सरकारले खोप लगाएको ६ महिना कटेकालाई बुस्टर डोज लगाउन सुरु गरिसकेको छ। कोरोनाविरुद्धको खोप लगाउन कोही पनि नछुटुन् भनेर सरकारले खोज र खोप अभियान सुरु गरेको छ। हाल १२ वर्षमाथिका लक्षित जनसंख्याको ६५ प्रतिशतले खोप लगाइसकेका छन् भने झण्डै साँढे ९ लाखले बुस्टर डोज लगाएका छन्। जुन सकारात्मक पक्ष हो। 

National life insurance
भाइरोलोजिस्ट वासुदेव पाण्डे पनि कोरोनासँग लिभिङ टुगेदरमा रहन सिक्नुपर्ने बताउँछन्। डा. पाण्डे कोभिडको अनुमान गर्न गाह्रो रहेको बताउँछन्।

विज्ञहरूका अनुसार निरन्तर खोप लगाइरहेकाले पनि कोभिडको अवस्था जटिलतातिर जाँदैन। डा. पुन भन्छन्, ‘खोप लगाएकाहरूमा  संक्रमण नहुने भन्ने होइन। तर, जटिल भएर मृत्यु हुने सम्भावना निकै कम छ। हामीले धेरै अगाडिदेखि भन्दै आएको पनि हो, खोप लगाउनेहो भने कम जटिलता हुन्छ। तसर्थ  हाम्रो भनाई के हो भने सायद आगामी दिनमा भाइसरको म्युटेसन त रहला। तर, पहिलोको डेल्टा, अल्फा भेरियन्टले सिर्जना गरेको जस्तो गम्भीरताको सम्भावना देखिँदैन। अब कमजोर होला वा पेण्डामिक छोटो समयमा नै एन्डिमिकको रूपमा घोषणा होला।’

स्वाइनफ्लु पनि सुरुमा पेण्डामिकको रूपमा देखिए पनि हाल मौसमी फ्लुको रूपमा देखिएको छ । त्यसपछि फ्लु हामीसँगै छ। कोरोना पनि त्यस्तै प्रकृतिको होला भन्ने डा. पुन बताउँछन्।  

अर्का भाइरोलोजिस्ट वासुदेव पाण्डे पनि कोरोनासँग लिभिङ टुगेदरमा रहन सिक्नुपर्ने बताउँछन्। डा. पाण्डे कोभिडको अनुमान गर्न गाह्रो रहेको बताउँछन्। उनी भन्छन्, ‘अब के होला भन्ने कोभिडको अनुमान गर्न गाह्रो छ। अब आउने भेरियन्ट कस्तो देखिन्छ भन्न सकिँदैन। कोभिड पनि  फ्लु जस्तै रहिरहन सक्छ।’ डा. पाण्डेका अनुसार कोभिड पनि अन्य रोगको लिस्टमा नयाँ रोगका रूपमा थप गर्नु पर्छ। 

उनी भन्छन्, ‘अरू देशहरूमा नियमहरू राम्रोसँग पालना गर्छन्। उनीहरूले चरण चरण गर्दै बजार, यातायात, आवतजावत खोलेका छन्। विदेशबाट जानेलाई अझै रोकिरहेको अवस्था छ। तर नेपालमा एकैचोटी खोल्ने, एकैपटकमा बन्द गर्ने चलन छ। हाम्रोमा कोभिड नियन्त्रण रणनीति पनि त्यति प्रभावकारी नभएको हो। तर अहिले ८० प्रतिशत भन्दा धेरैलाई कोभिड भएको अनुमान छ त्यसैले उनीहरूमा  एन्टिबडी बनिसकेको अवस्था छ। यो बेलामा प्रभावकारी नीति अपनाउनु पर्छ।’

खोप लगाएको केही महिनापछि एन्डिबडी कम हुँदै जाने अध्ययनहरूले देखाएको छ। खोप लगाएको केही महिनापछि एन्टिबडी कम भइसकेपछि फेरी कोरोना बढ्न सक्छ। त्यसैले पनि खोपलाई निरन्तरता दिँदै सतर्कता अपनाउनुपर्छ। 

हामीले पनि भ्याक्सिन त लगाएका छौं, तर लगाएको भ्याक्सिनले नयाँ भाइरसलाई कति काम गर्छ भन्ने प्रश्न छ। अहिलेको अवस्थामा त अलि साम्य भएको छ। एक महिनामा कति घट्ने, कुन भ्याक्सिनको एन्टिबडी शरीरमा कति अवधिसम्म रहने?, नेचुरल एन्टिबडी बनेकालाई कति समयमा भ्याक्सिन लगाउने हो भनेर अध्ययन भइरहेको छ।  त्यसैले पनि खोपलाई निरन्तरता दिनु अनिवार्य भएको पाण्डे बताउँछन्। 

डा. पाण्डे भन्छन्, ‘कोरोना निमिट्यान्न भएर जान्छ जस्तो लाग्दैन।’ सरकारले पनि हरेक बर्ष कोरोनाविरुद्धको खोप लगाउने हो की? कति अवधिमा लगाउन पर्ने हो भनेर विश्व स्वास्थ्य संगठन, सडिसिलगाएतले बनाएका नियमलाई ध्यान दिनुपर्छ। अबको समयमा अन्य रोगहरूको पनि उपचार व्यवस्थापनमा ध्यान दिनु जरुरी छ। यतिबेला पीसीआरका ल्याबहरू धेरै थपिएका छन्। यी ल्याबहरूलाई सरकाले अब सम्भावित पेण्डामिकको लागि पनि तयार राख्नुपर्ने डा. पाण्डे बताउँछन्। विज्ञहरूका अनुसार कोरोना भाइरस पूर्णरूपमा हराउँछ, अब देखिँदैन भन्ने होइन। तर कोरोना खोपले निरन्तरता पाएमा यसले जटिलता ल्याउँदैन। कोरोनाको पहिलो र दोस्रो लहरमा झैँ भयावह अवस्था आउँदैन।

प्रकाशित: Feb 25, 2022| 14:56 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्