धनगढी- कञ्चनपुरको कृष्णपुर-८ शान्तिपुरकी १७ वर्षीया कविता बिष्टको हत्या प्रकरणमा प्रहरी अनुसन्धानको करिब अन्तिम चरणमा पुगेको छ।
कृष्णपुर-२ वाणीका २१ वर्षीय मदन गिरी, सोही वडाका २२ वर्षीय भरत बोहरालगायत युवाले कविताको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाका मुख्य अभियुक्त मदन र कविताबीचमा पहिलेदेखि नै सम्बन्ध रहेको र त्यही कारण कविता मृत्युको मुखसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कविताको बलात्कारपछि हत्या गरेको आशंका भए पनि प्रहरी त्यसबारे अन्तिम निश्कर्षमा पुग्न सकेको छैन।
‘मदन र कविताको पहिलेदेखि नै सम्बन्ध रहेको खुलेको छ,’कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टले भने,‘सम्बन्धमा के कारणले खटपट भयो र हत्यासम्मको योजना बन्यो भन्नेबारेमा अनुसन्धान जारी छ।’ शुरुमै मार्ने योजनाजस्तो नदेखिए पनि सम्बन्धमा केही कारणले खटपट भएपछि मदनले साथीहरू बोलाएर हत्या गरेको हुनसक्ने उनले बताए।
मदन र भरत प्रहरी नियन्त्रणमा छन् भने घटनामा अरूको पनि संलनता रहेको आशंका प्रहरीको छ। मदनलाई प्रहरीले कविताको बुवाले दिएको किटानी जाहेरीका आधारमा ३१ असारमा ससुरालीबाट नियन्त्रणमा लिएको थियो। घटनालगत्तै भारत गएका भरतलाई भने कञ्चनपुरको वेदकोट-७ लालपुरबाट पक्राउ गरिएको हो।
कसरी खुल्यो घटनाको पोल ?
कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत बिष्ट २६ असारमा अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन्। बजार गएकी छोरी सम्पर्क नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए।
कविता कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत थिइन्। कविताकी साथी डम्बरी रोकायाले मदनले म२प ५७१९ नम्बरको मोटरसाइकलमा राखेर लगेको जानकारी परिवारलाई दिएपछि सोही आधारमा किटानी जाहेरी दिइएको हो। सोही सूचनाका आधारमा मदनलाई नियन्त्रणमा लिएर प्रहरीले मध्यरातमा बिष्टको हत्या गरी क्षतविक्षत अवस्थामा कृष्णपुर-२ लालझाडी-मोहना वन क्षेत्रको अम्खैया खोलानजिक फालेको लास फेला पारेको थियो। आफूहरूले कर्तव्य गरी हत्या गरेको अपराध लुकाउन प्रमाण लोप गराउने उद्देश्यले शवलाई जंगलको बीच भागस्थित गहिरो खोल्छामा फाली माथिबाट माटो र ढूंगाले पुरेको प्रहरीले जनाएको छ।
‘मदन, भरत, कविता, डम्बरी र अर्का एक युवक गरी पाँच जनाले २६ गते नै वाणीको एक होटलमा बसेर नास्तासमेत गरेको खुलेको छ,’कञ्चनपुर प्रहरीका प्रवक्ता ज्ञानबहादुर सेटीले भने,‘नास्ता खाएर सबै त्यतैबाट छुटिएको खुलेको छ तर हत्या नै गर्ने योजना कसरी बन्यो त्यो भने खुल्न बाँकी छ।’ करिब एक साताभित्रै घटनाबारे विस्तृत अनुसन्धान बाहिर आउने उनले बताए।
स्रोतका अनुसार घटनामा संलग्न अन्य दुई जना भारत पुगेकाले अनुसन्धानमा केही ढिलो भइरहेको हो। प्रहरीले भने घटनामा संलग्न अन्यलाई पनि चाँडै नियन्त्रणमा लिइने जनाएको छ। कविताको हत्या प्रकरण पनि कैलालीको गौरीगंगाकी माया विकको घटना प्रकृतिजस्तै देखिन्छ। मृतकका बाबु कर्णबहादुर बिष्टले घटनामा संलग्न भनिएका मध्येका एक भरतले ३१ असारमा भारतीय नम्बरबाट फोन गरेर घटनाबारे परिवारलाई जानकारी दिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४