काठमाडौं- नेपाल महिला संघले कानुनमन्त्री शेर बहादुर तामाङले बंगलादेशमा पढ्न गएका छात्राहरुको अस्मितामा नै आँच पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै राजिनामा माग गरेको छ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलमार्फत नेपाल सरकारको एक आधिकारिक व्यक्तिले यसरी दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै मन्त्री तामाङ्को राजिनामा माग गरिएको हो।
महिला संघले देशकै मन्त्रीले विना प्रमाण हचुवाको भरमा बंगलादेशमा डाक्टर पढ्न गएका छात्राहरुले शरिर बेचेर मात्र सर्टीफिकेट ल्याउँछन भनेर दिएको अमानविय, अत्यन्तै क्रुर, व्यभिचारी अभिव्यक्तिले दुर्इ देशबीचको सम्बन्धलार्इ नै प्रभावित पार्नसक्ने भन्दै मन्त्रीको राजिनामा माग गरेको हो।
कार्यक्रममा बोल्दै महिला संघकी अध्यक्ष उमा रेग्मीले मन्त्री हुँदैमा महिलाको चरित्रमाथि धावा बोल्ने अधिकार कसैको नभएको बताइन्। उनले भनिन, 'मन्त्रीको दम्भ र घमण्डले उन्माद भएर आफ्नो पदीय दायित्वकव ख्यालै नगरी मनपरि बोल्ने यस्ता मन्त्रीको नेपाल महिला संघ तत्काल राजिनामाको जोडदार माग गर्दछ।'
त्यसैगरी उनकै मतियार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसार्इँले दिएको अभिव्यक्तिप्रति पनि छानविनको मागसहित कडा कानुनी कारबाहीको माग गरेको छ।
महिला संघले ७७ वटै जिल्लामा मन्त्रीको राजिनामा माग गर्दै विरोध कार्यक्रम गर्ने पनि जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४