सन् १९७३ मा हामी पुष्पलाललाई भेट्न कोलकाता गएका थियौं। मसँग कपुर ज्ञवाली र नेपालभूषण न्यौपाने थिए। अरू कोहीसँग क्यामेरा थिएन। नेपालभूषणसँग मात्र क्यामेरा थियो।
त्यसबेला हामी कोलकाताको नेसनल लाइब्रेरी पुग्यौं, जसमा पुष्पलाल केही नोट टिपिरहेका थिए। देख्नेबित्तिकै मैले भनें, ‘नमस्कार, म देवेन्द्र गौतम।’ म त्यसबेला नेपाल अल्बेनिया समाजको अध्यक्ष थिएँ। त्यतिबेला रुसको दबदबा थियो। अल्बेनिया भने चीनको सहयोगमा रुसलाई थर्काएर बसेको थियो।
कोलकाता नेसनल लाइब्रेरीको एउटा गजबको विशेषता थियो। त्यहाँ नियमित अध्ययन गर्नेहरूका लागि बस्न एउटा कोठा दिइन्थ्यो। त्यसैले उपलब्ध गराएको कोठामा बस्नुभएको रहेछ पुष्पलाल।

उहाँले हामीलाई आदरपूर्वक कोठामा लानुभयो। उहाँ दम दिने स्टोभमा खाना पकाएर खानुहुँदो रहेछ। हामीलाई पनि त्यसैमा चिया पकाएर खुवाउनु भयो। पुष्पलालले आफ्नै हातले पकाएर चिया खान पाउने व्यक्ति हुँ। पुष्पलाल नेपाल फर्केर केही गर्ने सोचमा हुनुहुन्थ्यो। हामीसँगको भेटमा उहाँले पटक–पटक यो कुरा भन्नुभएको थियो।
नेपालभूषण न्यौपानेले बोकेको क्यामेराको हामीले सदुपयोग गर्ने विचार गर्यौं। उहाँले फोटो खिच्न मान्नुभएको थिएन। तर, निकै कर गरेपछि देवेन्द्र गौतमको मुख हेर्दै ‘लौ खिच’ भनेर फोटो खिच्न दिनुभयो।
हामी केही भेटघाटपछि काठमाडौं फर्कियौं। त्यसबेला वागमती अञ्चलाधीश थिए, सूर्यप्रसाद श्रेष्ठ। हामीमध्ये एक जनाले त्यो फोटो श्रेष्ठमार्फत् दरबारमा पुर्याएछन् । तत्कालीन शासकसँग पुष्पलालको फोटो पुगेको यो पहिलो थियो। त्यसबाहेक उहाँको फोटो कसैसँग पनि थिएन।
हामी बनारस जाँदा पुष्पलालको दिनचर्या देखेका थियौं। पुष्पलाल बनारसको दुर्गाघाटमा बस्नुहुन्थ्यो। उहाँको सधैं चिया पिउने साथी भने केशव बडाल हुनुहन्थ्यो। पुष्पलाल सधैं लुंगी र गम्छामा देखिनुहुन्थ्यो। हेमजंग थापा बस्ने तमोरी गल्लीस्थित घरको तल्लो तला निर्मल लामा बस्नुहुन्थ्यो। माथिल्लो तलामा मोहनबिक्रम सिंह बस्नुहुन्थ्यो।
बनारसको जगदम्बा पुस्तकालय अगाडि जम्मा भएर नेपालको राजनीतिबारे छलफल हुन्थ्यो।
पुष्पलाल र बीपी कोइराला अलग–अलग भएपनि उहाँहरूको प्रेम गजबको थियो। पुष्पलाललाई दाल, चामल, तरकारी किनेर डेरामा नै पुर्यानुहुन्थ्यो, बीपीले । पुष्पलाल भने ती सामान अरूलाई नै बाँडिदिन्थे। पुष्पलाल भन्थे, ‘मसँग थिएन, बीपीले ल्याइदिनुभयो। तर, मजस्तै नभएकाहरूलाई कसले दिन्छ र?’
(वरिष्ठ पत्रकार गौतमसँग गरिएको कुराकानीमा आधारित)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४