काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावमा कांग्रेसले जनतालाई आशा जगाउने सन्देश के दिने र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने भन्नेबारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन्।
पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनपछि आफू पार्टीको उत्तर दिने ठाउँमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिनेबारेमा सोच्नुपर्ने बताए।
पौडेलले भने, ‘कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतामा कसरी आशा जगाउने भनेर पदाधिकारीहरुले सोच्न जरुरी छ। म अहिले उत्तर दिने ठाँउमा छैन। उत्तर दिने ठाउँमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नुहोला।’
पौडेलले पार्टीभित्रको गुटबन्दीलाई केवल महाधिवेशनमा मन लागेकोलाई जिताउ मन नलागेकोलाई हराउनमा मात्र सीमित राख्नुपर्ने भन्दै गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुनेमा जोड दिए। वरिष्ठ नेता पौडेलले वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताए। उनले कांग्रेससँग ३० प्रतिशतमात्र मत भएको बताउँदै कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाउँमा गएमा के हुन्छ भनी प्रश्न गरे। उनले संविधानअनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए।
पूर्वराजा ज्ञानेन्द्रले नेताहरुले देश बेचे भनेको प्रसंग उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले देश बेच्ने नेता को हो भनेर छुट्याउनुपर्ने बताए। पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबन्धनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए। उनले केपी ओलीलाई भनेको उल्लेख गर्दै भने, ‘मुलुक असफतातर्फ जाँदै छ। हाम्रो पुस्ता नै असफल सावित हुँदैछ। सरकारले कानुन पास गर्न नसक्ने अवस्था आउने, संसद् चल्नै नदिने र अदालत पनि उस्तै अन्योल बनाउने हो?’
वरिष्ठ नेता पौडेलले माधव नेपाल र प्रचण्डले एमसीसीका बारेमा भ्रम छरेको बताए।