बुधबार, असार ३१, २०८३

साउने सोमबारको ब्रत, बोलबमको रौनक (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साउन, वर्षाको महिना । वर्षभरीमा अत्यधिक पानी पर्ने महिना पनि मानिन्छ, साउनलाई । खेत हराभरा बनाएर रोपिएको धानको रोपो यतिबेलै हरियो बन्ने हो। 

साउनको महिमा यतिमै सीमित छैन । महिलाहरूको गला र हातमा झुप्प हरिया, पहेंला पोते र चुराले साउनलाई अन्य महिनाभन्दा विशेष बनाएको छ । महिलाहरूका लागि यस महिनालाई सौन्दर्य विशेष नै मानिन्छ ।

सिंगारपटारमा खुलेका महिला साउनका हरेक सोमबार ब्रत बसेर भगवान् शिवको पूजा आराधनामा रमाउँछन् । 



केदारनाथको शिर मानिने भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव, काठमाडौंको पशुपतिनाथ, ललितपुरको शिव मन्दिर, भक्तपुरको दत्तात्रेय, काभ्रेका मठमन्दिरहरूमा साउने सोमबारमा भक्तजनको भीड लाग्ने गर्छ । धरानको पिण्डेश्वर महादेव मन्दिरमा पनि यस्तै भीड लागेको हुन्छ । 

महादेवको विशेष महिना



चराचर जगतका स्वामी मान्छन्, हिन्दु धर्मावलम्बीले महादेवलाई । देवादी देव महादेव हिन्दु धर्मावलम्बीका आस्थापुञ्ज हुन् । 

पौराणिक कालमा देवता र दानवहरू मिलेर गरेको समुद्र मन्थन पनि साउनमै भएको विश्वास रहिआएको छ । त्यसक्रममा निस्किएको कालकुट विष भगवान् शिवले नै सेवन गरेका थिए । विषका कारण घाँटी निलो भएकाले उनलाई नीलकण्ठ नामबाट पनि हिन्दु धर्मावलम्बीले चिन्ने गर्छन् । 

कालकुट विषको डाह शान्त पार्न उनी रसुवामा पर्ने गोसाईंकुण्ड आएको धार्मिक विश्वास छ । गोसाईंकुण्डमा आएपछि देवगणले जल अभिषेक गरेर भगवान् शिवको पीडा शान्त बनाएको विश्वास गरिन्छ । यस कारण पनि साउनमा शिवलिंगलाई जलाभिषेक गर्ने गरिएको हो । 

किन लगाइन्छ हरियो चुरा र पहेंलो रंग ?


बर्खे खेती लगाइएको क्षेत्र साउनमा हराभरा हुने गर्छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार हरियो भगवान् शिवको मनपर्ने रंग हो । हरियोले जीवनको संकेत पनि गर्छ । रूख, बिरूवाको हरियालीका कारण प्रकृति पनि हरित हुने गर्छ । प्रेमको प्रतीक पनि मानिन्छ, हरियोलाई । 

पहेलो रंग पवित्रताको संकेत मानिन्छ । रातो रंग भने सौभाग्यको प्रतीक मानिन्छ । सोही कारण महिलाहरू हरिया, पहेंला र राता पोशाक र पोतेमा सजिन्छन् । बजारमा रातो, हरियो र पहेंलो तीनैथरी रंग मिसिएका पोते छ्याप्छ्याप्ति भेटिन्छन् । 

कुन–कुन खानेकुरा निषेधित ?


विशेषतः माछा, मासु र अण्डा महिनाभरि नै बार्ने चलन छ । कोही भने लसुन, प्याज पनि खाँदैनन् । ब्रतको समापन कर्कलो खाएर गरिन्छ । 

विवाहित महिलाहरू श्रीमान्को दीर्घायु र परिवारमा सुख, समृद्धिका लागि ब्रत बस्ने गर्छन् । अविवाहित महिला भने शिवजस्तै श्रीमान् प्राप्त हुन् भनेर ब्रत गर्छन् । 

शिवरात्रिपछि भगवान् शिवलाई प्रशन्न पार्ने योग्य समय मानिन्छ, साउने सोमबार । तर, साउने सोमबारको ब्रत पुरुषहरू पनि बस्ने गरेका छन् । महिलाको तुलनामा उनीहरूको संख्या कम हुने गर्छ। 

वृद्धादेखि बालिकासम्मले हातमा मेहन्दी र छनछन बज्ने चुरा लगाएका हुन्छन्। तर, आजकल पहिलेजस्तो भक्तिभाव र ब्रत बस्ने चलन कम हुँदै गएको गुनासो सुन्न पाइन्छ । ब्रत पनि धार्मिक आस्थाभन्दा फेसनजस्तो देखिन थालेको मत धेरैको छ । 

गेरु बस्त्रधारी भक्तजनहरूले तलाउ या नदीमा पुगेर जल ल्याई शिवलिंगमा अभिषेक गर्ने गर्छन् । शिवलिंगलाई महादेवको प्रतीक मानिन्छ । धेरैमा शिवलिंग महादेवको जननेन्द्रिय रहेको अन्धविश्वास पाइन्छ । तर, वास्तविकता फरक छ। 



संस्कृतमा लिंगको अर्थ हुन्छ, प्रतीक, चिन्ह या निशान । त्यसैले शिवलिंग भगवान् शिवको प्रतीक हो । निराकार मानिने भगवान् शिवको प्रतीकका रूपमा ऋषिमुिनहरूले उक्त प्रतीकको पूजा अर्चना गर्ने चलन बसाएका हुन् । स्कन्ध पुराणका अनुसार पौराणिक कालमा ऋषिमुनिहरूले बत्तीमा केन्द्रित भएर ध्यान गर्ने गर्थे । तर, हावा चल्दा बत्ती स्थिर नहुने गरेकाले ध्यान एकाग्र हुँदैनथ्यो । 

त्यसपछि ऋषिमुनिहरूले दीप आकारको शिवलिंग बनाए । र, त्यसैमा केन्द्रित भएर ध्यान गर्न थाले । शिवलिंगको पूजा गर्ने चलन त्यतिबेलैदेखि शुरु भएको स्कन्ध पुराणमा वर्णित् छ । 

बोल बम



काँवरियाहरूले भगवान् शिवका पीठहरूमा साउन महिनाभर पूजाअर्चना र जल अभिषेक गर्ने गर्छन् । त्यसमध्येको एक हो, भारतको वैद्यनाथ मन्दिर अर्थात् बाबाधाम । 

भारतको झारखण्डको देवघर जिल्लामा पर्छ, बाबाधाम । नेपालबाट पनि हरेक वर्ष बाबाधाममा सयौं तीर्थयात्री पुग्ने गर्छन् । गंगा नदीबाट लगिएको जल बाबाधाममा लगेर चढाउने गरिन्छ । 

त्यसरी नै धरानस्थित पिण्डेश्वर बाबाधाममा भागिरथी गंगाको रूपमा पुजिने सप्तकोशी नदीबाट जल लगेर चढाउने गरिन्छ । उपत्यकाका शिव मन्दिरहरूमा वागमती नदीको उद्गम स्थलबाट जल ल्याएर चढाउने चलन छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।