काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीले एकतालाई भाँजो हाल्ने काम भएको आरोप लगाएको छ। बैठकमा सहभागी भएका नेपाल पक्षका नेता रघुजी पन्तले एकता प्रक्रिया अघि बढिरहेको तर एकता प्रक्रियामा भाँजो हाल्ने काम पनि अर्को पक्षबाट भइरहेको आरोप लगाएका हुन्।
एकता प्रक्रियालाई अघि बढाउने नै भए पार्टीका सदस्यता नवीकरण महाधिवेशनका काम रोक्नुपर्ने उक्त पक्षको निष्कर्ष छ।
'एकपक्षीय ढंगले अधिवेशन गर्ने काम एकतालाई भाँजो हाल्ने काम हो,' बैठकका निर्णय सुनाउँदै नेता पन्तले भने, '१० बुँदेलगायतका सहमतिले एकताको आधार तयार पारेको छ। कुराकानी र वार्ता निरन्तर भइरहेका छन्। तर एकपक्षीय ढंगले अघि बढे एकतामा असर पर्छ।'
तर उनले सरकारमा जाने विषयका सन्दर्भमा कुनै पनि कुराकानी नभएको उनको भनाइ छ।