काठमाडौँ- डा गोविन्द केसीको अनशनले नयाँ रेकर्ड कायम गरेको छ । सोमबारबाट अनशन २४ औं दिनमा प्रवेश गरेसँगै नयाँ रेकर्ड कायम भएको हो।
अहिलेसम्म बसेको अनशनमध्ये उनको यो अनशन सबैभन्दा लामो बनेको छ । उनले चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर १५ औँ पटकको गत १६ असारदेखि जुम्लामा अनशन शुरु गरेका थिए।
यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला बसेको ११ औं अनशन २३ दिनसम्म चलेको थियो । त्यसअघि डा केसी पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला १० औं पटकको अनशनमा २२ दिनसम्म बसेका थिए।
डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । उनलाई काठमाडौं ल्याएको चार दिन बितेपनि अहिलेसम्म औपचारिक वार्ता हुन सकेको छैन।
उनलाई अनसनको २० औं दिनमा काठमाडौं ल्याइएको हो । सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाए पनि डा केसीलाई काठमाडौं ल्याएदेखि वार्ता नै ठप्प भएको छ।
सरकार उनले स्वतन्त्र निर्णय लिनसक्ने अवस्थामा नपुगेसम्म वार्ता नगर्ने अडानमा छ भने केसी माग पूरा नभए अनशन नतोड्ने अडानमा छन् । दुवै पक्ष एकअर्कालाई गलाउने रणनीतिमा लागेका छन् । डा केसीले जबरजस्ती काठमाडौं ल्याएको भन्दै उपचारसमेत अस्वीकार गरेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन् ।
डा केसीको मुटुको गति जतिबेला पनि बन्द हुन सक्ने चेतावनी चिकित्सकहरूले दिइरहेका छन् । उनको नशामा संक्रमण देखिएको छ भने बोल्नसमेत कठिन हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४