बुधबार, असार ३१, २०८३

को हुन् पुष्पलाल ? नजिकबाट चिन्‍नुहोस् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा महत्वपूर्ण योगदान दिएका पुष्पलाललार्इ नेकपाका कार्यकर्ताले फेरि एक पटक सम्झिएका छन् । 

उनले १० वैशाख २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। उनले राणाशासनको निरंकुशता परास्त गर्ने तथा मुलुकमा समृद्धि र विधिको शासन कायम गर्ने उद्देश्यसाथ पार्टी स्थापना गरे भने आफ्नो पूरै जीवन निरंकुशता अन्त्य गर्नेतर्फ केन्द्रित गरेका थिए । 

पुष्पलालको जन्म १५ असार १९८१ मा रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा भएको थियो। पुष्पलालका एक दाजु गंगालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन्।
 
पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष बनेका थिए। विसं १९९७ मा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गंगालालले पुष्पलाललाई 'माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस्' भनेका थिए । र, दाजुको यही शब्द नै पुष्पलालका निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो। 

विसं १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरे। संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सीपमुलकसमेत) तालिम दिन्थ्यो।

भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले विसं १९९७ देखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्य रूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताको नेलसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने 'जनता' पत्रिकामा प्रकाशित गर्न मद्दत गरेका थिए। 

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरे। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।

 मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कोलकातामा पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। २००६ सालमा कोलकातामा भारत कम्युनिस्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिमबंगालका कम्युनिस्ट नेता ज्योति बसुको नजिक थिए। 

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरे। सम्भवतः नेपाली भाषाको सबैभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उनको विवाह साहना प्रधानसँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७ मा पार्टी प्रभाव विस्तार गर्न तेह्रथुम पुगे । २०१६ सालमा उनले सोभियत संघमा सम्पन्न कम्युनिस्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीन भ्रमण गरेका थिए । 

१ पुस २०१७ को काण्डपछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिस्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरे। कांग्रस र कम्युनिस्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको ७ साउन ०३५ मा भारतको नयाँदिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारका क्रममा निधन भयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।