काठमाडौं– आइतबार एमसीसीको विरोधमा भएको प्रदर्शनमा एउटा फरक दृश्यले धेरैको ध्यान तान्यो। प्रदर्शनकै बीच एक दृष्टीविहीन व्यक्ति मादल बजाउँदै बसिरहेको देखेर धेरैले उनलाई भीडमा नबस्न आग्रह गरिरहेका थिए। तर, ती व्यक्ति भने आफू पनि एमसीसीको विपक्षमा रहेकाले प्रदर्शनको बेला सडक नछाड्ने अडान लिइरहेका थिए।
उनी हुन्, ३५ वर्षीय कर्णबहादुर कार्की। जो एमसीसीको विरोधमा प्रदर्शन हुँदा क्यासेटमा समाचार सुन्दै बानेश्वरमा संसद् भवन आसपास मादल बजाएर सांकेतिक विरोध गरिरहेका थिए। जन्मजात दृष्टीविहीन कर्णलाई सडकपेटीमा मादल बजाएर कला प्रदर्शन गर्दै गुजारा चलाउनु बाध्यता हो। तर, आफ्नो कलालाई विद्रोहको बेला उपयोग गर्नुपर्छ भन्ने चेतनाले गर्दा आन्दोलनहरूमा उनी सहभागी भइरहन्छन्।
‘सडकमा मादल बजाएर पेट पाल्नु मेरो बाध्यता हो। तर आन्दोलन छ भन्दैमा म सडकबाट हट्दिनँ। यो देश बचाउन म पनि उनीहरूलाई साथ दिन चाहन्छु,’ कर्ण दृढ सुनिए।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुने भएपछि पैदल यात्रु छेउकुना लाग्दै थिए। तर कर्ण भने त्यही कालो चस्मा लगाएर मादल बजाउँदै आन्दोलनलाई नियालिरहेका थिए। बाटो हिँड्नेहरूलाई संसद् भवन अगाडि के भइरहेको छ भनेर सोधिरहेका थिए। ‘शान्तिपूर्ण विरोधहरू हुँदा म पनि जाने गर्छु,’ उनले भने, ‘भीडभाडमा जाँदा लड्ने, चोटपटक लाग्न सक्ने जोखिम हुन्छ। यसैले सडक छेउमा साइड लागेर बस्ने गरेको छु।’
डिग्री छ तर छैन रोजगारी
डेढ दशकदेखि काठमाडौं बस्दै आएका कर्णबहादुरको घर जुम्लाको तातोपानी गाउँपालिकामा पर्छ। काठमाडौं आएर एमएसम्मको अध्ययन गरे पनि उनले रोजगारी पाउन सकेका छैनन्। शिक्षक सेवाको तयारी गर्दै रहेको बताउने कर्णले शिक्षाशास्त्रमा उच्च शिक्षा हासिल गरेका छन्। यद्यपि आफ्नो योग्यताअनुसारको जागिर नपाएकाले सडकमा आउन बाध्य छन्।
‘एकचोटी धादिङ महादेवस्थानमा शिक्षकको जागिर गर्न गएको थिएँ। मलाईचाहिँ ठाउँ छैन भनेर प्रिन्सिपलले आफ्नो दृष्टीविहीन सालीलाई नै राहत कोटामा राखिदियो,’ केही निराश भावनमा उनले सुनाए। शारीरिक अपांगता भएकाहरूका लागि सरकारी जागिरको उमेर हद ४० वर्षको हुन्छ। त्यो बेलासम्म जसरी भए पनि जागिर खाइसक्ने अठोट गरेका कर्णबहादुर अहिले ३५ वर्ष पुगिसके। यसैले पनि उनलाई सरकारी जागिर खाने हतारो छ। बिहान–बेलुका शिक्षक सेवाको तयारी गर्दै दिनभरि सडकमा मादल बजाएर पैसा जोहो गरिरहेका छन्।
कर्णबहादुरलाई देशको राजनीतिमा निकै चासो छ। ताजा खबर थाहा पाउन उनी जहाँ जाँदा पनि रेडियो बोकेर हिँड्छन्। कहिले मोबाइलमै एफएम बजाएर खबर सुनिरहन्छन्।
‘आयोगमा नाम निकाल्न त्यति सजिलो छैन। धेरै नै पढ्नुपर्छ। फुर्सद मिलाएर बिहान–राति पढिरहेको छु। पेट पनि पाल्नैपरो, समय यसमै बित्छ,’ उनले बाध्यता पोखे। कर्णबहादुरलाई देशको राजनीतिमा निकै चासो छ। ताजा खबर थाहा पाउन उनी जहाँ जाँदा पनि रेडियो बोकेर हिँड्छन्। कहिले मोबाइलमै एफएम बजाएर खबर सुनिरहन्छन्। पढ्दै गर्दा उनी एमालेको अपांग विभागको केन्द्रीय सदस्य पनि थिए। अहिले भने कुनै जिम्मेवारीमा छैनन्।
उनका अनुसार अपांगता भएकाहरू पार्टीमा धेरै छन्। नेताका निकट हुने त्यस्ता व्यक्तिहरूले जागिर पनि पाउँछन्। तर नेता रिझाउन नसक्ने कर्णजस्तालाई जागिर पाउन गाह्रो छ। एउटा कोटामा सात–आठ जना भिड्नुपर्छ।
राजनीतिका साथै अन्य समसामयिक विषयमा पनि चासो राख्ने कर्णबहादुर देशको समस्याको जड राजनीतिलाई नै मान्छन्। अहिले भइरहेको एमसीसीको लफडा पनि राजनीतिक दलको स्वार्थले सिर्जना भएको उनको ठहर छ। ‘अस्ति पानीको फोहोरा हानेको रैछ। आज पनि ठूलै झडप होलाजस्तो छ,’ आन्दोलन चलिरहँदा उनले अनुमान गरे, ‘सधैं यसरी जनता र कार्यकर्तालाई लडाएर नेताहरूले के गर्न खोजेको हो केही बुझ्न सकिएन।’