बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सम्पत्ति बेचेर ऋण तिर्ने प्रतिबद्धता गरेका व्यापारी अग्रवाल चेक बाउन्स मुद्दामा समातिए

सम्पत्ति बेचेर ऋण तिर्ने प्रतिबद्धता गरेका व्यापारी अग्रवाल चेक बाउन्स मुद्दामा समातिए

चारवटा बैंकको ऋण डुबाएर फरार रहेका उनले केही समयअघि काठमाडौं फर्की पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको बताएका थिए।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं– मदिरा बिक्री गर्ने रिटेल कम्पनी ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौंको कान्तिपथ र दरबारमार्गमा रहेको उक्त सोरुमका सञ्चालक केही दिनअघि काठमाडौंबाट पक्राउ परेका हुन्।

चारवटा बैंकको ऋण डुबाएर फरार रहेका उनले केही समयअघि काठमाडौं फर्की पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको बताएका थिए। कोरोना महामारीका कारण ऋण बढ्दै जाँदा तिर्नुपर्ने ठाउँमा समयमै ऋण तिर्न नसकिएको उनको भनाइ थियो। आफूसँग पर्याप्त सम्पत्ति रहेकाले सैब ऋण चुक्ता गर्ने उनले दाबी गरेका थिए। ‘‘मेरो एक अर्ब ऋण छ। त्यसमध्ये करिब ८० करोड बैंकहरूको छ। सहकारी संस्थालगायतको २०–२५ करोडजति छ। मेरो सम्पत्ति पनि १ अर्ब ५ करोडबराबर छ।

त्यसैले सबै ऋण तिर्छु,’ अग्रवालले पत्रकार सम्मेलनमा भनेका थिए, ‘साथीहरूले ऋण तिर्न गरेको कमिटमेन्ट समयमै पूरा गर्न सकिनँ। व्यवसायीलाई जहिले पनि पैसाको सर्टेज भइरहन्छ। साथीभाइसँग पैसा लिने र दिने गरिरहनुपर्छ।’ सञ्चारमाध्यममा आएजस्तो ऋण नतिर्ने उद्देश्यले नभागेको अग्रवालको भनाइ थियो।

अहिले भने उनी चेक बाउन्स आरोपमा पक्राउ परेका हुन्। व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबराको चेक बाउन्स भएपछि उनीहरुकै उजुरीका आधारमा अग्रवाल पक्राउ परेका हुन्। अधिकारीको ५० लाखको र जबराको डेढ करोडको चेक बाउन्स भएको बताइएको छ। प्रहरीले अग्रवाललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति पाइसकेको छ। अग्रवाल परिवारले बैंकहरुबाट लिएको ऋणबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकले पनि अनुसन्धान गरिरहेको बताइएको छ।

चारवटा बैंकको ऋण डुबाएर फरार रहेका उनले केही समयअघि पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्न सक्ने अवस्था रहेको बताएका थिए।

गत पुसमा अग्रवालको मदिरा सोरुम सिज भएको थियो। आयात गरेको मदिरा बिक्री गरेर पनि बैंकको पैसा नतिरेको भन्दै दुई बैंकले सोरुम सिल गरेका थिए। त्यसपछि अमितसहित उनका परिवारका ९ जना सदस्य फरार भएका थिए।

ऋण दिने बैंक र प्रहरीको पहलमा अग्रवाल सम्पर्कमा आएका थिए। त्यसपछि उनले पत्रकार सम्मेलन गरेर बैंकको सम्पूर्ण ऋण चुक्ता गर्ने बताएका थिए। त्यस क्रममा उनले परिवारका सदस्य बिरामी भएकाले एक महिनासम्म सम्पर्क आउन नसकेको बताएका थिए। प्रहरीका अनुसार अग्रवालले विभिन्न बैंक र व्यक्तिहरुसँग मिटर ब्याजमा एक अर्बभन्दा बढी ऋण लिएको देखिएको छ।

एभरेष्ट, मेगा, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेण्ट बैंकको गरी ८० करोडभन्दा बढी ऋण अग्रवालले लिएको बताइएको छ। अहिले बैंकहरुले ऋण उठाउने प्रक्रिया अगाडि बढाइसकेको र उनी आफैंले पनि सम्पर्कमा आएर बैंकका सीईओहरुलाई भेटेको बताएका छन्। 

विदेशी कम्पनीको महँगा मदिरा बेच्ने ग्रिनलाइन सञ्चालक अग्रवालको परिवार घरमा एउटा चिठी छाडेर काठमाडौंबाट हिँडेको थियो। 

पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोराहरू अभिषेक र अमितले हस्ताक्षर गरेका थिए। बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको, मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्धिएको आदि पत्रमा उल्लेख थियो।

साढे दुई दशकदेखि व्यापार गर्दै आएको एउटा परिवार एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले उनीहरू जान सक्ने सम्भावित स्थानमा खोजी सुरु गरेको थियो। 

प्रकाशित: Feb 21, 2022| 13:45 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्