बुधबार, असार ३१, २०८३

मालपोतमा फारम भरेको मात्रै १० हजार !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बिहीबार दिउँसो १.१० बजेको थियो। कलंकीस्थित मालपोत कार्यालयमा एक्कासी होहल्ला भयो।

नागढुंगाका गजेन्द्रबिक्रम जीसीले चर्को स्वरमा गुनासो पोखे, 'एक साता भयो, एउटा चिठ्ठीका लागि धाएको। कहिले के भन्छन्, कहिले के।' आवाज ठूलो भएकाले सबैको ध्यान उनीतिर मोडियो। 

झोक्किँदै बाहिर निस्केका गजेन्द्रले मालपोतले उपलब्ध गराउने चिठ्ठी एक सातासम्म पनि पाएका रहेनछन्।

नागढुंगा-नौबिसे सुरुङमार्गमा पर्ने आफ्नो जग्गाको मुआब्जाका लागि सम्बन्धित नगरपालिका तथा आयोजनाको सिफारिससहित उनी मालपोत कार्यालय धाइरहेका छन्। उनीसहितका ५० भन्दा बढी सेवाग्राहीको एकै समस्या छ। 

उनको कडा स्वर सुनेर कलंकीका रमेश गिरीले प्रतिक्रिया दिए, 'कुकुरले हड्डी छोड्ला, मालपोतका कर्मचारीले भ्रष्टाचार छोड्दैनन्।' जग्गा पास गर्न आएका गिरी तीन महिनाअघि जग्गा पास गर्दा तीन लाख रुपैयाँ घुस दिनुपरेको अनुभव सुनाउँदै थिए।

आफन्त पर्ने कर्मचारीले नै जग्गा पास गर्दा त्यति ठूलो रकम लिएको उनी बताउँदै थिए। बाटोको कारण देखाउँदै तीन महिनाअघि गिरीको जग्गा पास भएन। तर, तीन लाख बुझाउनेबित्तिकै पुरानै फाइल सदर भयो।

३५ वर्षदेखि मालपोतमा लेखापढी गर्दै आएका लक्ष्मण खत्रीले ठोकुवा गरे, 'यसभन्दा ठूलो भन्सारमा तपाईं अहिलेसम्म पुग्नुभएकै छैन।' खत्रीले काम सिकाएका लेखापढी व्यवसायीहरू अहिले करोडौंका मालिक भइसकेका छन्। उनी भने सडकबाट 'सेवा' दिँदै आएको अवस्थामा भेटिए।

किन खुला ठाउँमा बसेर काम गर्नुभएको त ? संवाददाताको प्रश्न भुईंमा खस्न नपाउँदै खत्रीले प्रतिक्रिया दिए, '१० हजार दिनुहुन्छ ? सोफामा बसालेर काम गरिदिन्छन्।' उनको संकेत आफूजस्तै लेखापढी गर्ने अन्य व्यवसायीहरूतिर थियो। 
 

काम शुरु गर्दा थोरै रकम लिने बताए पनि बीचमा विभिन्न बहाना बनाएर बढी रकम असुल्ने प्रवृत्ति।



लेखापढी व्यवसायी दिपक गिरीले पाँच हजार लिएर एक घण्टामै काम सकिदिने रहेछन्। एउटा फारम भरेको कसरी पाँच हजार रुपैयाँ लाग्छ ? उनले तत्काल जवाफ फर्काए, 'तपाईं आफैं गर्ने भए एक हप्तामा काम सकिन्छ अनि बल्ल घर जानुहोला।' मालपोत कर्मचारीलाई अतिरिक्त रकम नदिई कामै नहुने उनको स्पष्टोक्ति थियो। 

काम शुरु गर्दा थोरै रकम लिने बताए पनि बीचमा विभिन्न बहाना बनाएर बढी रकम असुल्ने गरेको खत्रीले बताए। 

उनका अनुसार लेखापढी व्यवसायीले हरेक फाइलको कमिसन कर्मचारीलाई उपलब्ध गराउनैपर्छ नत्र उनीहरूले पनि सर्वसाधारणकै जस्तो सास्ती खेप्नुपर्छ। विभिन्न बहानामा फाइल रोक्ने र निश्चित रकम लिएपछि पुरानै मापदण्डमा पास गर्ने मालपोतको परम्परागत शैली नै हो।

सेवाग्राहीले मालपोतमा दैनिक सास्ती खेपिरहँदा लेखापढी व्यवसायीलाई भने कार्यालयका कुना-कुनासम्म बिनारोकटोक सहज आवतजावत देखिन्थ्यो। र, व्यवसायीले कर्मचारीलाई मालपोतको अभिलेख पल्टाउने मात्र होइन, नियम-कानून पनि सिकाएको सहजै देखिन्थ्यो। 

समाचार संकलनको सिलसिलामा व्यवसायीको निर्देशनअनुसार राजस्व निधारण गरेकोसमेत देखिन्थ्यो।

मालपोतका कर्मचारीलाई अभिलेख कहाँ छ भन्ने पत्तो थिएन। लेखापढी व्यवसायीले भने तत्काल निकालिरहेका थिए। व्यवसायी र कर्मचारीबीचको त्यस्तो सम्बन्धको चक्रमा सेवाग्राही भने पिल्सिएका छन्। 

व्यवसायीमार्फत् नगए कार्यालयको ढड्डा खुल्दैन। त्यसरी जाँदा सेवाग्राहीले ढाड सेकिने गरी रकम बुझाउनुपर्छ। व्यवसायी र कर्मचारीले सेवाग्राही ठग्ने गतिलो 'नेक्सस' बनाएका छन्। 

त्यसरी व्यवसायीले असुल्ने रकमबारे कार्यालयले जिम्मेवारी लिन नसक्ने कलंकी मालपोतका प्रमुख नवीनकिशोर अधिकारीले बताए। सेवाग्राही आफैं अगाडि सर्दा समय बढी लाग्ने तर व्यवसायीमार्फत् छिटो काम हुने कसरी हुन्छ ? अन्य सरकारी कार्यालयमा पनि यस्ता व्यवसायी रहेको उदाहरण दिँदै कार्यालय नियमसंगत चलेको अधिकारीको दाबी थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।