काठमाडौं- धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार साँझ जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको हो।
जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले टाउको र दाहिने खुट्टा फेला परेको जनाएको छ।
टाउको पुरुष भए पनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलतर्फ कुकुरसहित प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटना बारे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ।