काठमाडौं- भारतीय आयल निगम (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची नेपाललाई पठाएको छ। नयाँ मूल्यअनुसार आईओसीले मूल्य बढाएर नयाँ सूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ।
नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेसनले बुधबार नयाँ मूल्य सूची पठाएको हो।
आईओसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढाइएको छ। भारतले बढाएको नयाँ मूल्य र नेपालमा निगमले निर्धारण गरेको हालको मूल्य अनुसार आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाइ छ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ। आईओसीबाट मूल्य बढेर आएको भए पनि तत्काल नेपालमा मूल्य बढ्ने/नबढ्नेबारे निगमले खुलाएको छैन।