विराटनगर- मोरङ धनपालथान-४ कर्सीया बजारमा रहेको नमूना सहकारीको १ करोड ९० लाख रुपैयाँ हिनामिना गर्ने दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारीका लेखापाल धनपालथान-४ का ६० वर्षीय सविलाल राजवंशी र सह-लेखापाल धनपालथान-६ का ५५ वर्षीय राजकुमार राजवंशीले रकम हिनामिना गरेका हुन्। सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। दुवै जनाविरुद्ध सहकारी ठगी मुद्दा चलाउन जिल्ला अदालत रङबाट बुधबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
लेखा परीक्षण प्रतिवेदनले सहकारीको ठूलो रकम भ्रष्टाचार भएको देखाएको सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले बताए। धनपालथान-४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि रकम हिनामिना भएको ठहर गरेको सर्वेलाल बताउँछन्। उनका अनुसार लेखापाल सविलालले एक करोड ११ लाख ६२ हजार र सह-लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ हिनामिना गरेको खुलेको छ।
सहकारीले सनपाटको खरिदबिक्री र बालुवा तथा गिट्टी ढुवानीको काम पनि गर्ने गरेको थियो। मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवं बिक्रीका क्रममा हिनामिना गरेको पाइएको बताईएको छ।