काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार ७४ औं खेलमा सातादोबाटो क्लबलाई हराएर मछिन्द्रले आफ्नो लक्ष्य पूरा गरेको छ। खेलको ५३ औं मिनेटमा सातदोबाटोविरुद्ध गोल गर्दै मछिन्द्रले लिगमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्यो। मछिन्द्रले लगातार दोस्रो पटक ए डिभिजन लिगको उपाधि जितेको छ।
उपाधि जितेपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आजको जित क्लबका सबै पक्षको मेहनतले सम्भव भएको बताए उनले भने, ‘क्लब, खेलाडी, अफिसियल र स्पोन्सर सबैको सहयोग र मेहनतले यो सम्भव भएको हो। एकल प्रयासले लिग जितिने पनि होइन। सबैभन्दा धेरै मेहनत त खेलाडीले नै गरेका छन्। खेलाडीले नै खेलेर जितेको हो। म त केही पनि होइन। हामीबीच सुमधुर सम्बन्ध छ। हाम्रो जितको आधार त्यो नै हो।’
लिग सुरु हुँदै गर्दा मछिन्द्रका सबै खलाडीले कपालमा सेतो रंग पोतेर टिममा एकताको सन्देश दिएका थिए। त्यसमाथि खेलाडीलाई खेलप्रति प्रतिबद्ध बनाउन र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउन क्लबले नै खेलाडीलाई सुविधासम्पन्न होटलमा राख्यो। लगानी अनुसारको उसले नतिजा निकाल्यो पनि।
मनाङले सबैमा जित निकाले पनि उसले २९ अंक त बनाउने छ। तर, हेड टु हेडका आधारमा ऊ मछिन्द्रभन्दा पछि नै रहनेछ। यसकारण मछिन्द्रले दुई खेल अगावै लिग जितेको हो।
‘लिग जितेका छौं। खेल र लिग जित्दा खुसी छौं। हाम्रो टिम एकजुट छ। टिममा सबैको मनोबल राम्रो छ,’ उपाधि जितेपछि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने, ‘पहिलो खेलमा एनरआटीविरुद्ध २–१ को संघर्षपूर्ण जितपछि हामीले लिगमा संघर्ष गरिरहेका थियौं। दोस्रो, तेस्रो स्थानमा मात्र भएको बेला थियो। तर लिगको छैटौं राउन्डमा हामीले मनाङलाई हराएपछि हाम्रो जर्नी नै परिवर्तन भयो र उपाधिसम्म पुग्यौं।’
लिग सुरु हुँदै गर्दा मछिन्द्रका सबै खलाडीले कपालमा सेतो रंग पोतेर टिममा एकताको सन्देश दिएका थिए। त्यसमाथि खेलाडीलाई खेलप्रति प्रतिबद्ध बनाउन र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउन क्लबले नै खेलाडीलाई सुविधासम्पन्न होटलमा राख्यो। लगानी अनुसारको उसले नतिजा निकाल्यो पनि।
सुजलले आफ्नो टिमका खेलाडीको अनुभव र क्लबको लगानी लिग जित्ने मुख्य आधार भएको बताए। उनले भने, ‘मलगायत विशाल राईले लगातार चार पटक लिग जितेका छौं। त्यो अनुभवले पनि का गर्यो। अनि अहिलेको बलियो आधार भनेको सबै स्टार खेलाडी हामीसँग छन्। लिग जित्नका लागि लगानी पनि महत्वपूर्ण छ।’
बुधबार औसत रुपमा सुरु भएको खेलको आठौं मिनेटमै सातदोबाटोका मानबहादुर तामाङले प्रहार गरेको फ्रि किक पोस्टको टप राइट कर्नरमा पुगेको थियो, जहाँ गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। त्यस्तै, २९ औं मिनेटमा कर्नरबाट आएको बलमा सातदोबाटोले लगातार तीन प्रहार गर्यो। तर, उसका सबै प्रहार गोलकिपर श्रेष्ठले बचाए।
त्यस्तै, ३२ औं मिनेटमा सातदोबाटोले गोलको निकै सुनौलो अवसर गुमायो। मानबहादुरको फ्रि किकमा फरवार्ड अजयी मार्टिन्सले हेडर गरेका थिए। केही समयअघि नै हेडरका लागि तयार देखिएको मार्टिन्सको प्रहार विशालले मुस्किलले बचाएका थिए। बुधबार दशरथ रंगशालामा देखिएको यो निकै रोमाञ्चक दृष्य रह्यो। ‘त्यसरी नै झरेको बल हाम्रो चाहिँ गोलकिपरको हातमा जानु तर मछिन्द्रको चाहिँ गोल हुनु त लक नै हो। हामीले छ यार्ड बक्स भित्रबाटै लगातार तीन पटक प्रहार गरे पनि गोल भएन। उनीहरुको लकले पनि साथ दियो। हामीले राम्रो पोजिसन ल्याउने काम चाहिँ गरिरहेकै छौं,’ खेलपछि सातदोबाटोका प्रशिक्षक केसीले भने।
खेलमा मछिन्द्रले तुलनात्मक रुपमा धेरै प्रहार गर्यो। १९ औं मिनेटमा सुशील राईको प्रहार गोलकिपर अभिषेक बरालले मैदान बाहिर पठाइदिएका थिए। त्यसपछि कर्नर प्रहारमा मछिन्द्रले केही राम्रा प्रहार गरे पनि गोलकिपर र डिफेन्डरले रक्षा गरेका थिए। २४ औं मिनेटमा नुर्लान नोभ्रोजुभको क्रसमा विमल घर्ती मगरले गरेको हेडर पनि बरालले बचाएका थिए। त्यस्तै, ३७ औं मिनेटमा अभिषेक रिजालको प्रहार पिटर सेगुनले क्लियर गरे। यससँगै पहिलो हाफ गोलरहित बराबरी भएको थियो।दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर गोलकिपर बरालले बचाए पनि बल नियन्त्रणमा लिन सकेनन्। क्रसबारबाट रिबाउन्ड बलमा अजरबैजानी खेलाडी नुर्लान नोभ्रोजुभले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। नार्लानलको यो दोस्रो गोलसमेत हो। उनले त्यसको अर्को मिनेटमा गरेको प्रहार भने पोस्टबाहिर गएको थियो।
खेलको इन्ज्युरी समयमा पनि सुजल श्रेष्ठले प्रहार गरे पनि गोलकिपर बरालले बचाएका थिए। मछिन्द्रले लिग जितेको खेलमा नुर्लान म्यान अफ दि म्याच बने। आजको जितसँगै मछिन्द्रले लगातार सात खेलमा जित निकालेको छ। त्यस्तै, उसले क्लिन सिटको समय पनि हजार मिनेट नजिक पुर्याएको छ। आजको खेलमा हार बेहोरेसँगै सातदोबाटो भने १५ अंकका साथ सातौं स्थानमा कायम छ।
खेलमा मछिन्द्रले तुलनात्मक रुपमा धेरै प्रहार गर्यो। १९ औं मिनेटमा सुशील राईको प्रहार गोलकिपर अभिषेक बरालले मैदान बाहिर पठाइदिएका थिए।
सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘आजको खेल सोचेअनुरुप नै भएको थियो। हामी स्कोरका लागि खेल्छौं भन्ने थियो। तर स्कोर भएन। ऊ आफैंमा राम्रो टिम हो। तर हामीले जित्ने तयारी गरेको हो। पहिलो हाफमा राम्रो प्रदर्शन पनि गरेको हो तर दोस्रो हाफमा मछिन्द्र हाबी भयो। मछिन्द्रको लक पनि रहेछ। तर खेलबाट म सन्तुष्ट छु।’
प्रशिक्षक प्रवेशले लिगमा सातौं चरणमा एएफसी कप खेल्ने फिक्स भएसँगै उपाधि यात्रा लगभग पक्का भइसकेको बताएका छन्। उनले भने, ‘हामी टप ७ मा च्याम्पियन हुने टिम एएफसी कपमा जाने थियो। टप ७ मा शीर्षमा हुने टिमले नै लिग जित्ने सम्भावना थियो। हामी मनाङभन्दा अघि थियौं र उलाई हरायौं। हामीले महत्वपूर्ण खेलमा हार खाएनौं। त्यो लिग जित्ने कडी हो।’
यता बुधबारको खेलपछि प्रशिक्षक कटुवालले सातदोबाटो अन्डरडग टिम भएको बताएका छन्। उनले भने, ‘सातदोबाटो अन्डरडग हो। हामी आज गोल लगाउँछौं र उपाधि जित्छौं भन्ने नै थियो।’ लिग जित्ने हिसाबले टिमको निर्माण गरेको मछिन्द्रले यो वर्ष पनि स्टार खेलाडी थपेको थियो। थ्रीस्टारले किनेका मनिष डाँगीलाई उसले अनुबन्ध गर्यो। एनएसएलमा नेपाल आएका नुर्लानलाई पनि उसले टिममा राख्यो र विमल घर्ती मगर, सुनिल बल, सुजल श्रेष्ठ, रेजिन धिमाल र विशाल राईजस्ता खेलाडीलाई पनि बाहिर जान दिएन।
‘पोहोरको भन्दा यो लिगमा हामी झन् बलियो भएका छौं। स्टार खेलाडी पनि थपेका छौं। अब हामी एएफसी छनोट खेल्दैछौं। हामी समूह चरणमा पुग्छौं भन्ने छ। तर गाह्रो छ। ब्लु स्टारलाई जितेर पनि आईएसएलको टिमसँग खेल्नुपर्ने छ,’ प्रशिक्षक कटुवालले भने।
प्रशिक्षक कटुवाल डेब्यू गरेपछि लगतार दोस्रो पटक च्याम्पियन भए। पछिल्लो सिजनका कान्छा प्रशिक्षक रहेका कटुवाल विजयी भएका थिए। ४१ वर्षे प्रशिक्षक कटुवालले आफूलाई च्याम्पियन प्रशिक्षक बनाएकोमा खेलाडीलाई धन्यवाद दिएका छन्। उनले भने, ‘पछिल्लो सिजन डेब्यू थियो। यो दोस्रो वर्ष हो, जितेको पनि दोस्रो वर्ष नै हो। लगातार च्याम्पियन प्रशिक्षक बनाएकोमा खेलाडीलाई धन्यवाद। हामीले उपाधि रक्षा गर्नका लागि बलियो टिम बनाएको हो।’
'मछिन्द्र भाग्यमानी क्लब हो'
सातदोबाटोका प्रशिक्षक मेघराज केसीले आफूले हार बेहोरे पनि लिग विजेता मछिन्द्र यो वर्ष भाग्यमानी रहेको प्रतिक्रिया दिएका छन्।
उनले खेलपछि बोल्दै मछिन्द्रबारे भने, ‘उसले दुई खेलअघि नै उपाधि जित्यो। मछिन्द्र लिग जित्नेमा भाग्यमानी भएको छ। उसले राम्रो खेलेर भन्दा पनि भाग्यले साथ दिएर जितेको हो। खेल नै हेर्दा थाहा हुन्छ, उसले सबै खेलमा डोमिनेट गरेको छैन। उसबारे जति सोच्न सकिन्छ तर त्यो अनुसारको प्रदर्शन गरेको छैन। जुन स्तरमा टिम बनेको थियो। त्यो अनुसरको प्रदर्शन भने पाइनँ।’
मछिन्द्रको उपाधि यात्राः
पहिलो चरणमा एनआरटी विरुद्ध २–१ को जित
दोस्रो चरणमा आर्मीविरुद्ध गोलरिहत बराबरी
तेस्रो चरणमा जावलाखेलविरुद्ध २–० को जित
चौथो चरणमा हिमालयन शेर्पाविरुद्ध ३–० को जित
पाँचौं चरणमा संकटाविरुद्ध गोलरहित बराबरी
छैटौं चरणमा मनाङविरुद्ध १–० को जित
सातौं चरणमा पुलिसविरुद्ध १–० को जित
आठौं चरणमा फ्रेन्ड्सविरुद्ध १–० को जित
नवौं चरणमा ब्रिगेड ब्वाइजजविरुद्ध ४–० को जित
१० औं चरणमा च्यासलविरुद्ध २–० को जित
११ औं चरणमा सातदोबाटोविरुद्ध १–० को जित