काठमाडौं- नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ।
ब्यूरोले मंगलबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेको भन्दै यसबाट जोगिन सबैलाई आग्रह गरेको हो।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विभिन्न किसिमका चिट्ठा परेको भन्दै पैसा लिनका लागि ट्याक्स तिनुपर्ने भन्दै अनलाइनमार्फत पैसा भुक्तानी गरी ठगी गरेको उजुरी बढेको बताए।
उनले आफ्नो पासवर्ड र ओटिपी कोर्ड गोप्य राख्न र अरूबाट यसको दुरुपयोग हुन नदिन सबैलाई आग्रहसमेत गरे। साइबर ब्यूरोले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागद्वारा समयसमयमा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा जानकारी लिनसमेत अनुरोध गरेको छ।