काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौताका सन्दर्भमा दोहोरो दृष्टिकोण नराख्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अघि बढाउने सन्दर्भमा सबै राजनीतिक दल अछूतो नरहेको भन्दै एमसीसी सबै मिलेर पास गर्न आग्रह गर्ने निर्णय गरेको हो।
‘एमसीसीमार्फत सहयोग प्राप्त हुँदैछ। यसमा सत्तामा रहेका कुनै पनि दल अछूतो छैनन्। माओवादी नेतृत्वको सरकार (बाबुराम भट्टराईको प्रधानमन्त्रीकाल) बाट एमसीसीको प्रक्रिया सुरु भएको हो। त्यसयताका सबै प्रधानमन्त्री र मन्त्रीहरु यसमा सामेल हुनुहुन्छ,’ बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘अहिलेका आलोचकहरु पनि त्यो मन्त्रीपरिषद्मा हुनुहुन्थ्यो। अहिले उहाँहरुले द्वैध चरित्र देखाइरहनु भएको छ। फरक समयमा फरक दृष्टिकोण आएका छन्। यसले नेपालको हित हुँदैन।’
कांग्रेसले आफू सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा एमसीसीका विषयमा एकै धारणा राख्दै आएको प्रष्टाएको छ। ‘हामी सत्तामा हुँदा र बाहिर हुँदा एकै धारणा छ। सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को दृष्टिकोण हाम्रो हुँदैन,’ महतले भने, ‘विदेशी सहयोग, विदेश नीतिका सन्दर्भमा देशको स्वार्थमा राखेर हामी निर्णय गर्छौं। कतिपय नेता र दलहरुले फरक समयमा फरक दृष्टिकोण राख्दा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रश्न उठ्ने खतरा बढेको छ। बढीभन्दा बढी अनुदान आओस् भन्ने हाम्रो चाहना छ। हामी एमसीसीका बारेमा छरिएका भ्रम निवारण गर्न देशभर यथार्थ पुस्तिका बाँड्नेछौं।’
कांग्रेसले विदेशी सहयोग लिने सन्दर्भमा सबै मित्र राष्ट्रसँग एउटै मापदण्ड बनाएर अघि बढ्नुपर्ने बताएको छ। ‘विदेशी सहयोग लिने निर्णय सन्दर्भमा सबै मित्र राष्ट्रसँग एकै मापदण्ड बनाएर अघि बढ्नुपर्छ। अब एमसीसी संसद् टेबुल हुन्छ। यसमा खुला बहस हुन्छ। यो पारदर्शी अनुदान हो,’ महतले भने, ‘एमाले सरकारले संसद्मा अनुमोदनका लागि लैजाने व्यवस्था मन्त्रीपरिषद् बैठकमार्फत गराएको हो। त्यसैले एमालेले दोहोरो कुरा गर्न हुँदैन। माधव नेपाल र प्रचण्डजीको दल पनि यो प्रक्रियामा सहभागी छन्। त्यसैलै एमसीसीमा दुई किसिमको दृष्टिकोण हामी नराखौं। नेपाली जनतालाई अन्योल र भ्रममा नराखौं। अनुमोदनको बाटोमा लैजाऔं।’
यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोग पारित गर्न दलहरुलाई आह्वान गरेको थियो।। बैठकले एमसीसी र महाभियोगलाई संसद्बाट पास गर्नुपर्ने निष्कर्ष निकाल्दै यसमा सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको हो।
बैठकपछि सांसद एव कांग्रेस महामन्त्री गगन थापाले जबराविरुद्ध दायर भएको प्रस्ताव संसद्बाट पारित गराउन अन्य दलका सांसदहरुलाई पनि आह्वान गरिएको जानकारी दिए। महाभियोग उपयुक्त भएकाले प्रस्तावमा हस्ताक्षर गर्नेबाहेक अन्य दलसँग सम्वद्ध सांसदहरुले पनि सहयोग गर्नेमा बैठकले विश्वास प्रकट गरेको उनले बताए।
थापाले भने, ‘संसद्मा रहेका हामी हस्ताक्षर गर्नेबाहेक अन्य राजनीतिक दलसँग सम्वद्ध भएका सांसदहरुले पनि यो महाभियोग उपयुक्त भएकाले गर्दा यसलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं। प्रस्तावलाई संसद्बाट पारित गर्न हामीले अन्य राजनीतिक दलका सबै सांसदहरुलाई आह्वान गरेका छौं।’
बैठकमा सहभागी सबै सांसदहरुले एमसीसी अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। सांसद नभए पनि बैठकमा सहभागी भएका पूर्व अर्थमन्त्री डा। रामशरण महतले एमसीसी देशको हितमा भएका कारण यसलाई कार्यान्वयन गर्नुपर्ने भन्दै करिब एक घण्टा ब्रिफिङ गरेका थिए।
बैठकपछि कांग्रेस डा. शशांक कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुन सक्ने बताए। उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए। नेता कोइरालाले एमसीसीको रुपरेखा नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल स्पष्ट पारे।
कोइरालाले भने, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो। ९ वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ। त्यहाँ अमेरिकी सेना गएको छैन। यसको रूपरेखा नेपाल सरकारले नै तयार गर्ने हो भन्नुभयो भोलिको बैठकमा पेस हुनसक्ने सम्भावना छ।’
महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताएका थिए। उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाए। उनले भने, ‘एमसीसी राष्ट्रको हितमा छ। यसलाई गलत चर्चा, गलत आलोचना गरेर भ्रमपूर्ण आलोचना गरी रोक्नु राष्ट्रको हितविपरीत हुन्छ। अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन। एमसीसी यही बैठकबाट पारित हुनुपर्छ। फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ।’
नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरु बढ्ने र पूर्वाधारको विकास हुने दाबी गरे। उनले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानुन अनुसार सम्झौता गरिएको बताए।
नेतृ सुजाता कोइरालाले एमसीसी पास गर्न ढिलो गर्न नहुने बताइन्। उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘एमसीसी हामीले टेबुल गरेर पारित पनि गर्नुपर्छ। यो एउटा सहयोग हो, अनुदानलाई लिन्न भन्दा राम्रो देखिँदैन। अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रेर जान्छ। हाम्रो यति लामो समयदेखिको सम्बन्ध छ, त्यो बिग्रिन्छ। अब धेरै ढिलो गर्नुहुँदैन।’