काठमाडौं– मूलथलो जनकपुर भएका ललित भण्डारीलाई बाल्यकालमै फूलसँग लगाव भयो। कारण– उनका हजुरबुबा फूलको व्यापार गर्थे। बुबाले पनि त्यही बाटो समाते अनि ललित पनि अन्त मोडिएनन्।
३८ वर्षीय ललितले फूललाई नै जीविकोपार्जनको माध्यम बनाएका छन्। ‘मेरो त जाति नै माली पर्यो। बाजेको पालादेखि नै फूलको खेती गर्थ्यौं,’ उनले सुनाए, ‘काठमाडौंमा बुबाको फूल पसल भएकाले सानैदेखि फूलसँग लगाव भयो। यो व्यवसायबाहेक अरू केही सोचेको छैन।’
ग्राहकलाई देवता सम्झने हँसिलो मिजासका ललितको फूल पसल पशुपति जयबागेश्वरीमा छ। उनको पसलमा रजनी, स्प्रे पत्ता, विभिन्न रङका गोदावरी, गुलाफ, जिप्सी, लिली, कार्नेसन, अर्पिक, अस्टेर, सयपत्री, कमल, ग्लाइट, जलबेराजस्ता दुई दर्जन प्रजातिका फूल पाइन्छन्। ललितका अनुसार बाह्रै महिनामा पर्ने विभिन्न चाडवाडमा फूल नभई नहुने भएकाले पुष्प व्यवसाय सदावहार व्यापार हो।
नेपाली समाजमा जन्मदेखि मृत्युसम्मका संस्कारमा फूल चाहिन्छ। धर्मकर्म, पूजापाठ, प्रेम दर्शाउन वा कुनै विशिष्ट पाहुनाको स्वागतको लागि, घर या वातावरण सजावट र श्रृंगारमा फूल अनिवार्य हुने गर्छ। ललित फूल किनेर बेच्ने पसलेमात्र होइनन्, उनले जनकपुरस्थित पुर्ख्यौली थलोमा फूल खेती गरेका छन्। बुबा–आमा अझै पनि जनकपुरको खेतीमा सघाइरहेका छन्।
‘एउटा फूलको बोटले आफ्नो डालीमा स–साना कोपिलालाई जिन्दगी दिन्छ। कोपिला डालीमा कैयौं भमरा, मौरी र लोभी आँखालाई लोभ्याउँदै वयष्क हुन्छ र फूल बन्छ,’ रमाइला कुरा गर्ने ललितले अर्थ्याए, ‘कुनै फूल मन्दिरमा देवतालाई पुज्न प्रयोग हुन्छ त कुनै दाहसंकार गर्न। र पनि फूल पवित्र छ।’
नेपाली समाजमा जन्मदेखि मृत्युसम्मका संस्कारमा फूल चाहिन्छ। धर्मकर्म, पूजापाठ, प्रेम दर्शाउन वा कुनै विशिष्ट पाहुनाको स्वागतको लागि, घर या वातावरण सजावट र श्रृंगारमा फूल अनिवार्य हुने गर्छ।
ललित मालालाई जीवनसँग दाँज्छन्। ‘सेतो रजनी फूलमा रातो गुलाफ मिसाउँदा यो माला जति सुन्दर बनेको छ। त्यस्तै मानिसको जीवन पनि सुहाउँदो साथी भेटिएपछि चिटिक्क बन्छ,’ विवाहका लागि वरमाला उन्न व्यस्त ललित भन्छन्। फागुनमा बिहेका लगन भएकोले उनको व्यस्तता अहिले बढी छ।
फूलसँग सानैदेखि प्रेम भएको बताउने ललित व्यवसायबाट हुने आर्थिक आर्जनसँगै फूललाई माया गर्नेहरूसम्म पुर्याउन पाएकोमा बढी खुसी लाग्ने बताउँछन्। तर कहिलेकाहिँ फूल बिक्री नभएर ओइलिएर जान्छन्। त्यसलाई फोहोरसँगै फाल्न माया लाग्छ।
‘केही दिनअघिसम्म सबैलाई आफ्नो सौन्दर्यले लोभ्याउने फूल केही दिनमै बेजान बनिदिन्छ। यो देख्दा मान्छेको जिन्दगी पनि दुई दिनको हो कहिले के हुन्छ थाहा हुन्न जस्तो लाग्छ,’ गोदामबाट भर्खरै ल्याएको फूललाई टोकरीमा राख्दै उनले भने। बाल्यकालमा आमासँग बँगैचामा गएर गोडमेल गर्न सघाँउथे ललित। बगैँचामा हुर्किएकाले आफ्नो पहिलो प्रेम नै फूललाई ठान्छन् उनी। माला उन्न र फूलका गुच्छा बनाउन उनलाई धेरै मन पर्छ। हात खाली भयो कि माला उन्न, बुकी सजाउन थालिहाल्छन्।
फूलसँग सानैदेखि प्रेम भएको बताउने ललित व्यवसायबाट हुने आर्थिक आर्जनसँगै फूललाई माया गर्नेहरूसम्म पुर्याउन पाएकोमा बढी खुसी लाग्ने बताउँछन्। तर कहिलेकाहिँ फूल बिक्री नभएर ओइलिएर जान्छन्। त्यसलाई फोहोरसँगै फाल्न माया लाग्छ।
ललितलाई सबैभन्दा मन पर्ने फूल गुलाफ हो। गुलाफको फूल काँडाको बीचमा उज्यालो र मन नै लोभ्याउने गरी फूलेको हुन्छ। गुलाफले आफ्नो सुन्दरतालाई काँडाको सहयोगले लोभी नजरबाट सुरक्षा गरेको छ र यो अरू सामान्य फूलभन्दा भिन्न छ। त्यही भएर गुलाफलाई फूलहरूको रानी भनिने उनको तर्क छ।
पछिल्लो समय ललितले फूल व्यवसाय गर्ने केही युवाहरूको बजार व्यवस्थापनको जिम्मा लिएका छन्। आफूजस्तै अरू पनि फूलका पारखीलाई पुष्प व्यवसायमा जोड्न पाउँदा उनी दंग छन्।
कक्षा सातमा पढ्दै गर्दा उनले आफ्नो पढाइलाई विश्राम दिए। त्यसपछि काठमाडौंमा आएर बुबाको फूल पसलमा सघाउन थाले। काठमाडौं आएपछि पसलमा फूल सजाउनेदेखि ग्राहकसँग रमाइला कुराकानी गर्दै फूल बेच्ने सीप सिके।
‘ग्राहकहरू थरिथरिका भेटिन्छन्,’ उनी सुनाउँछन्, ‘पशुपति जाने बाटैमा पसल भएकाले भक्तजनहरू बढी आउँछन्। यसबाहेक भिक्षुदेखि संन्यासीसमेत आउँछन्।’
ललितका अनुसार विवाहको साइत भएको बेला वरमाला र गाडी सजावटको लागि बढी फूल बिक्री हुन्छ। यसबाहेक पूजापाठ, पास्नी, व्रतबन्धको समयमा बढी फूल बिक्री हुने गर्छ। भ्यालेन्टाइनमा भने गुलाफ ग्राहकले बढी माग गर्ने गर्छन्। वर्षभरिमा सबैभन्दा बढी फूल बिक्री हुने सिजन भने तिहार नै हो।
बाल्यकालदेखि नै पुष्प व्यवसायमा संलग्न भए पनि ललितको जीवनमा आजसम्म कसैले फूल दिएको सम्झना छैन। उनले पनि आजसम्म कसैलाई पनि फूल उपहार दिएका छैनन्। फूललाई सानैदेखि माया गरेको भए पनि फूलसँगको आफ्नो भावना नसाटेको उनी सुनाउँछन् ।
मागी विवाह गरेका ललितको परिवारमा श्रीमती र तीन छोरा छन्। लकडाउनमा अन्य व्यवसायझैं ललितको व्यापार पनि ठप्प भयो। पहिलो लकडाउनमा पाँच महिनासम्म उनले व्यवसाय सञ्चालन गर्न पाएनन्।
‘फूल धेरैको लागि प्रेमको प्रतीक हो। तर मेरो लागि जीविकाको माध्यम हो,’ उनी भन्छन्, ‘यही फूल छ र मेरो दैनिकी चलेको छ। परिवार धान्न सजिलो भएको छ।’
व्यावसायिक उतारचढावले ललित निराश भएका छैनन्। श्रम र भगवानप्रति आस्था राख्ने उनी परिश्रमलाई आराधनासरह मान्छन्। अगरबत्ती र ताजाताजा फूलको बास्नासँगै बिहानी सुरु गर्ने ललित साँझ आठ बजेसम्म पसलकै काममा खटिन्छन्।