काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रबुद्ध समुदायका व्यक्तिसमेत सडकमा उत्रिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
सोलिडारिटी फर डा केसी अलायन्सको आह्वानमा काठमाडौंमा निकालिएको जुलुसमा विभिन्न पेशाका प्रबुद्ध व्यक्तिहरु समेत सहभागि भएका थिए । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधान्यायाधीश सुशीला कार्की, पूर्वउपकुलपति केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, अभिनेत्री मनिषा कोइरालालगायतका विभिन्न व्यक्तिहरु समेल थिए । प्रदर्शनमा प्रहरीले दमनको प्रयास गरेको थियो ।
यसैविषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले केसीको पक्षमा प्रवुद्धसमुदाय शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले डा केसीको समर्थनमा नागरिक अगुवा सडकमा शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुरले डा केसीको समर्थनमा आइतबारदेखि बसन्तपुर डबलीमा आम नागरिकको सहभागितमा सामुहिक सत्याग्रह हुने पनि समाचारमा उल्लेख गरेको छ ।
आजको नयाँ पत्रिकाले भने निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न सरकार सकारात्मक रहेको खबर लेखेको छ । यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार सकारात्मक भएपनि आफ्नै स्रोतबाट बोहोर्न नसक्ने स्थिति रहेको प्रतित्रृया दिएका छन् । कांग्रेसले भने राष्ट्रियकरण अन्तिम विकल्प भएकाले अहिले अन्तिम विकल्पमा जाने बेला नभएको बताएको छ ।
यस्तै नयाँ पत्रिकाले पाँच सय समिति, बोर्ड, आयोग र प्रतिष्ठान विघटन गर्ने तयारीमा सरकार रहेको पनि खुलासा गरेको छ । असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले खारेजको निर्णय गरेको हो । सरकारले कुनै पनि समिति, बोर्ड, आयोग र प्रतिष्ठान खारेज गर्न नपर्ने भए १५ दिन भित्र मन्त्रालमा जवाफ दिन भनेको थियो । उक्त अवधि पनि सकिसकेको नयाँ पत्रिकाले लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४