काठमाडौं– सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ–कमर्स ब्राण्ड हब ‘भेषभुषा डटकम’ सञ्चालनमा आएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अभिनेता राजेश हमाल, मेगा बैंकी डेपुटी सीईओ रविना देशराज, आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बराललगातले उद्घाटन गरेका थिए।
स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभुषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष दीपक पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ सहरमा सेवा उपलब्ध गराइने बताए। केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्म मार्फत पुर्याइने उनले जानकारी दिए। ‘विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन, स्वदेशी ब्राण्ड विदेशमा पनि पुर्याउने भेषभुषाको लक्ष्य रहेको छ,’ उनले भने।
नवीनतम शैली र सेवाहरु मार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणाली मार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभुषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताए।
देशैभरि सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सीप र व्यक्तित्व निखारताको परामर्श सेवा सँगसँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र विस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीहरु बारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पुर्याउँदै अगाडि बढ्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भेषभुषा डटकमकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो। भेषभुषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्र मार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताइन्।
हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेज लगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने जनाइएको छ। जहाँ २१ प्रकारका फेसन सम्वन्धी, ४ प्रकारका लाइफस्टाइल सम्वन्धी र ९ वटा ब्राण्ड ब्युटीसँग सम्वन्धित रहेका छन् ।