ललितपुर- सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा बाँढेर चुनाव जित्छु भन्ने भ्रम नेताहरूले त्याग्नुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन्। प्राथमिकताका आधारमा आयोजना छनौट गर्नुपर्ने र असीमित आवश्यकताहरुलाई सीमित साधन, स्रोतले पूरा गर्ने परिपाटी बसाल्नुपर्ने उनको भनाइ छ।
'विकास र आयोजनासँग राजनीति प्रत्यक्ष रुपले व्यक्ति आफ्नो हिरोइजमका लागि जोडिने परिपाटी अन्त्य नगर्दासम्म, प्राथमिकतामा आयोजनाहरु नबनाउँदासम्म, असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटीमा हामीले केही न केही कमिटमेन्ट नगरेसम्म यस्तै गिजोलिने राजनीति र हरेक पटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिडेको हुँदैन,' मन्त्री झाँक्रीले भनिन्, 'चाहे संघीयता ल्याऔँ, चाहे वित्तीय हस्तान्तरण गरौँ, चाहे सरकार दिऔँ, चाहे हरेक कुरा गरौँ। यो हुनसक्ने काम हुँदै होइन।’
मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तिय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताए। स्थानीय तहलाई पर्याप्त रुपमा वित्तीय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरुले आफैँलाई सरकारको रुपमा अभ्यास गरिरहेको उनको भनाइ छ।
'आजको हिसाबले भन्ने हो भने तल वित्तिय हस्तान्तरण भएको छैन भन्न चाहिँ मिल्दैन। नेपालको आफ्नै प्रकृतिको यो संघीयताको मोडेलभित्र स्थानीय तहलाई पर्याप्त वित्तीय हस्तान्तरण भएको देखिन्छ। र नगरपालिका संघ, गाउँपालिका महासंघ, नगरपालिका महासंघहरुले आफुलाई सरकारको हिसाबले अभ्यास पनि गर्नुभाछ। प्रदेश त सात वटा सरकार छँदैछ। यो गर्दैगर्दा हाम्रो वित्तिय हस्तान्तरण कमजोर भयो, अथवा भएन, अथवा हाम्रो डिमान्ड धेरै थियो अथवा हाम्रो सप्लाई थोरै भयो अथवा हाम्रो इन्भेस्टमेन्टमा यति ठूलो खाडल छ भन्ने कुराको बारेमा अब बहस हुन आवश्यक छ,' मन्त्री झाँक्रीको भनाइ छ।