धनगढी-डोटीको आदर्श गाँउपालिका-४ बस्ने बमवहादुर बोहराकी श्रीमती, दुई छोरा र एक छोरीसहित सेती नदिमा हाम फालेको घटना सार्वजनिक भएको छ ।
साविकको महादेवस्थान-५ मा पर्ने देहिमाण्डौ निवासी बोहराकी २८ वर्षीया श्रीमती धौली बोहराले १२ वर्षीया छोरी राधीका, आठ वर्षीय छोरा सुरेन्द्र र छ वर्षीय छोरा सुनिलसहित सेती नदिमा हाम फालेको खुलेका हो ।
आदर्श गाँउपालिका-४ का अध्यक्ष नारायण पछेराका अनुसार घटना श्रावण १ गते भएको हो । प्रहरीलाई भने शुक्रबार मात्र जानकारी भएको छ । सेतीमा हाम फाल्ने मध्ये ८ बर्षीय सुरेन्द्र भने बच्न सफल भएका छन् । उनलाई सेती नदिमा माछा मार्दै गरेका स्थानीय मानवहादुर विकले बचाएका हुन् । अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कसरी बचे सुरेन्द्र
मानबहादुरले माछा मार्नसँगै नातीलाईसमेत लगेका थिए । नातीलाई एक ठाउँमा बसिरहन भनेर उनी जाल हानेर माछा मार्दै थिए । करिव एक सय मिटर तल बालक बग्दै गरेको देखे । त्यो बालक आफ्नै नाती हो भन्ने सोचेर उनले नदिमा हाम फालेर बालकलाई बचाए । ति बालक उनको नाती नभएर अपरिचित थिए । पछि बालकलाई नै सोधपुछ गर्दा उनले आफ्नो ठेगाना र बाबुको नाम भनेपछि उनको परिचय खुल्यो ।
कसरी भयो घट्ना
वडा अध्यक्ष पछेराले दिएको जानकारी अनुसार केहि समय अघिदेखि महिलाको मानसिक रोगी थिइन् । भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको पनि १५ दिन मात्र भएको छ । बमबहादुर बिहान सुतेका थिए । धौलीले छोराको उपचार गर्न मेडिकल लग्छु भनेर श्रीमानलाई पैसा मागेर उनी दुई छोरासहित घरबाट निस्किन् । छोरी राधीका भने गोरु चलाउन जंगल गइसकेकी थिईन् । मावली गाउँमा आप खान जाउँ भन्दै छोरीलाई ललाई फकाई गरेर उनले आफुसँगै लगिन् ।
सुरेन्द्रको भनाई अनुसार उनले गर्मी भयो नुहाउनु पर्यो भनेर नदिमा लगिन् । सेती नदि घरबाट करिव तीन घण्टा टाढा छ । नदि छेउमा पुगेपछि पहिलो पटक उनले छोरीलाई नदिमा धकेलिन । कान्छो छोरालाई पिठ्युमा बाँधिन र सुरेन्द्रलाई हात समातेर नदिमा हाम फालिन् ।
गोरु चराउन जंगल गएकी छोरी र मेडिकल गएकी श्रीमती बेलुकी सम्म फर्किएनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४