काठमाडौं : सरकारले अधिनायकवादी शैली नसच्चाए अझ् प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा सामना गर्नुपर्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ। 'शान्तिपूर्ण जुलुसमाथि बानेश्वरमा भएको अन्धाधुन्ध आक्रमण' लाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो।
बानेश्वर झडपपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ' सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ ।'
चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा आन्दोलन जारी रहेको कांग्रेसले जनाएको छ। विज्ञप्तीमा उल्लेख छ, 'अधिनायकवाद उन्मुख सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ ।'
कांग्रेसका प्रवक्ता शर्माका अनुसार नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएका छन् । प्रहरी दमनको लगतै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझ्नुका साथै आन्दोलनकारीहरुको हौसला बढाएको विज्ञप्तीमा उल्लेख छ।
प्रवक्ता शर्माले भने, 'एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ ।'
विज्ञप्तीमा उल्लेख छ, ' नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा. गोविन्द के.सी.ले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उहाँको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै घोर भत्र्सना गर्दछौं ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४