काठमाडौं-तरुणदलको प्रदर्शनका क्रममा प्रहरीले आन्दोलनकारीलाई रिभल्बर नै फायर गर्न खोजेको एक प्रदर्शनकारीले बताएका छन् ।
नेपाल तरुण दल काठमाडौंको सचिव दिनेशविक्रम शाहले नेपाल समयलाई दिएको जानकारी अनुसार नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्ड नजिकको झडपमा प्रहरीले धनगढीका विनय लामालाई लक्षित गर्दै रिभल्वरमा गोली लोड गरेर फायर गर्न खोजेका थिए ।
तर, नजिकै रहेका पत्रकारहरुले भिडियो र फोटो लिन थालेपछि कक गरेको रिभल्वर झुकाएर गोलीसमेत निकालेका थिए ।
‘प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जमात्र होइन झण्डै गोली नै ठोक्यो,’ शाहले भने, ‘सँगै रहेका विनय लामालाई लक्षित रिभल्वर पत्रकारको सहयोगले झुक्यो नत्र भने त्यहाँ अर्को अप्रिय घटना घट्न सक्थ्यो ।’
प्रदर्शनका क्रममा प्रहरीले गरेको लाठी चार्ज र अश्रुग्यास प्रहारबाट तरुण दलका नेताकार्यकर्ता घाइते भएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४