काठमाडौं- झण्डै पाँच किलो सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। अवैध रूपमा ल्याउँदै गरेको करिब चार केजी ८ सय ४० ग्राम सुनसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय चिनिया नागरिक झाङ लिलाई प्रहरीले पक्राउ गरेको हो।
हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा भित्री पोसाकभित्र चार पोकामा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनले ल्याएको सुनको शुद्धता परीक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।