कपिलवस्तु- बाणगंगा नगरपालिका-२ स्थित मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका-१४ बस्ने ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन्।
उक्त जंगलमा केही व्यक्तिहरू बन्दुकसहित हिँडिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीरबहादुरलाई खालि अवस्थामा रहेको एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।