काठमाडौं- कांग्रेस भातृ संस्था नेपाल तरुण दलको प्रदर्शनमा शनिबार अपरान्ह प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको छ। प्रहरी दमनमा परी दर्जनौं घाइते भएको तरुण दलले जनाएको छ।
घाइतेहरूलार्इ मीनभवनस्थित निजामती अस्पतालमा भर्ना गरिएको छ। प्रहरी दमनको विरोधमा आइतबारदेखि अझ कडा आन्दोलनका कार्यक्रम तय गरिएको तरुण दल महामन्त्री भुपेन्द्रजंग शाहीले जानकारी दिए। आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएको छ।
‘सरकारको अधिनायकवादी शैलीविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिने निर्णय गरेका छौं,’ शाहीले भने, ‘सरकारी निरंकुशताविरुद्धको आन्दोलन अझ कडा बनाउँछौं ।’
शनिबार तरुण दलको प्रदर्शन र आमरण अनशनरत डा गोविन्द केसीको समर्थनमा निस्केका अलग-अलग जुलुस नयाँबानेश्वरमा भेला भएका थिए। त्यसक्रममा तरुण दलको जुलुस प्रहरीको ब्यारिकेड तोडेर अगाडि बढेपछि लाठीचार्ज र अश्रुग्यास प्रहार भएको थियो। त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो।
डा केसीको समर्थनमा निकालिएको प्रदर्शन भने तनावका बीच कोणसभा गरेर समापन भएको थियो। कोणसभालाई खगेन्द्र संग्रौलालगायत नागरिक अधिकारीकर्मीले सम्बोधन गरेका
थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४