तनहुँ- लोपोन्मूख अति संकटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै करेन्ट लागेर मरेका छन्। विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुँदै जाने खतरा बढेको हो।
गिद्धलाई बचाउनको लागि तार नजिक भएको स्थानमा आहारा राख्न नहुने वा तारलाई इन्सुलेटर राखेर जोगाउनुपर्ने संरक्षणकर्मीले बताएका छन्। बेलैमा सतर्कता नअपनाउने हो भने गिद्ध लोप भएर जाने संरक्षणकर्मीको भनाई छ।
व्यास नगरपालिकाले वडा नम्बर १० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्रमा मरेका गाई तथा गोरुलाई गिद्धलाई आहारा बनाउन खुला छाडिदिँदा गिद्धहरु ठूलो सङ्ख्यामा खान आउने क्रममा केही करेन्ट सहितको तारमा ठोकिएर मर्ने गरेको स्थानीय रामप्रसाद सापकोटाले बताए।
गौ संरक्षण केन्द्रलाई अन्यत्र सार्न स्थान अभाव हुने हुँदा विद्युतीय तारलाई करेन्ट नलाग्ने गरी व्यवस्थापन गरेर गिद्धलाई जोगाउनु पर्ने सापकोटा बताउछन्। सिनो खाने क्रममा शनिबार मात्रै तीन वटा गिद्ध मरेको सापकोटाले जानकारी दिए। सिनो फालिएको बेला तीनदेखि चार वटा गिद्ध मर्ने गरेको र हालसम्म झण्डै एक सय गिद्ध मरिसकेको सापकोटाले बताए।
गौ संरक्षण केन्द्र नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन नजिकै रहेकोले गिद्ध करेन्ट लागेर मर्ने गरेको उनले जानकारी दिए। छाडा चौपायलाई व्यवस्थापन गर्न बनाईएको गौ संरक्षण केन्द्रमा झण्डै एक सय वटा गाई रहेका छन् । केन्द्रमा अधिकांश बुढा गाईगोरु रहेका छन्। ती गाई र गोरु गिद्धलाई आहारा होस् भन्ने उद्धेश्यले नगाडीकन छाडा रुपमा छाड्ने गरिएको छ।
बल्ड डिप्लेटर तथा पोलिथिन पाइपले तारलाई छोपेर बचाउन सकिने गिद्ध विज्ञ समुह सदस्य तथा पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले बताए।