दार्चुला - दार्चुलाको नौगाड गाउँपालिका–३ ढामडेरामा भारतीय नम्बर लेखिएको बेलुन भेटिएको छ। स्थानीयहरुले भारतीय मौसम विभागको नाम र नम्बर लेखिएको बेलुन भेटेका हुन्।
नौगाडमा भेटिएको बेलुनसहितको उपकरण भारतीय मौसम विभागले पठाएको पुष्टि भएको छ। मौसमसम्बन्धी जानकारी संकलनका लागि देहरादूनस्थित मौसमविज्ञान केन्द्रले बेलुनमा उपकरण राखेर उडाएको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
उत्तराखण्डको मौसमबारे जानकारी संकलनका लागि बेलुनसहितको उपकरण पठाएको मौसमविज्ञान केन्द्र देहरादूनले पुष्टि गरेको छ। हावा कुन दिशातिर बहिरहेको छ, त्यसको गति कति छ भनेर पत्ता लगाउन डिभाइससहितको बेलुन पठाएको भए पनि हावाको चापले बेलुन नेपाली सीमामा पुगेको मौसमविज्ञान केन्द्र देहरादूनका असिस्टेन्ट अनुराग नेगीले जानकारी दिएका छन्।
'३२ ग्रामको बेलुन हुन्छ, हावाको दिशाअनुसार जाने हो,' मौसमविज्ञान केन्द्र देहरादूनका अस्सिटेन्ट नेगीले भने। त्यसमा भएको डिभाइसमार्फत हामीले मौसमसम्बन्धी सूचना पाउने हो। बेलुन उडाएपछि त्यसलाई देहरादूनबाटै नियन्त्रण गर्न सकिने प्रविधि नभएको उनको भनाइ छ।
भारतीय बेलुन दार्चुलाको नौगाडमा खसेपछि त्यसमा भएको नम्बरमा स्थानीयले फोन लगाएका थिए। मौसमसम्बन्धी जानकारी संकलनका लागि आफूहरुले बेलुन पठाएको जवाफ भारतबाट प्राप्त भएको स्थानीयले बताएका छन्। यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतले मौसमसम्बन्धी तथ्यांक संकलनका लागि बेलुन पठाएको बुझिएको प्रतिक्रिया दिएका छन्।