बुधबार, असार ३१, २०८३

जनकपुरमा फोहोर उठाउन दुई ट्रयाक्टर!

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुर नगरपालिका घोषणा भएको ५९ वर्ष बितिसकेको छ। ०१६ सालमा नगरपालिका घोषणा भएको जनकपुरलाई तत्कालीन सरकारले ०७१ सालमा उपमहानगरपालिका घोषणा गर्‍यो। उपमहानगरपालिका र त्यसपछि प्रदेश-२ को अस्थायी मुकाम घोषणा भइसकेको जनकपुर भौतिक पूर्वाधार र सरसफाइको क्षेत्रमा उँभो लाग्न सकेको छैन।

विभिन्न राजनीतिक दलका नेताहरूले जनकपुर बनाउन प्रतिबद्धता व्यक्त नगरेका होइनन्। तर, ती प्रतिबद्धता यथार्थपरक रूपमा कार्यान्वयनमा नआउँदा हिन्दु धर्मावलम्वीहरूका लागि पवित्रस्थल मानिने जनकपुरमा मुख्य रूपले फोहोर व्यवस्थापन ठुलो चुनौती बनेको छ। जनकपुरको विशेष महत्वलाई मध्यनजर गरी लामो प्रयासपछि हालै संघीय सरकारको मन्त्रिपरिषद् बैठकले जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गर्दै जनकपुरधाम राख्ने निर्णय गरेको छ।

जनकपुरमा फोहोर व्यवस्थापन कुनै नौलो समस्या होइन। जनकपुर सफा राख्न निजी तथा सरकारीस्तरबाट पटक-पटक प्रयाससमेत हुँदै आएको छ। तर, सफलता प्राप्त हुन सकेको छैन।उपमहानगरपालिका कार्यालयसँग सरसफाइसम्बन्धी आवश्यक साधनस्रोतको कमी, फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटको अभावलगायत कारण जनकपुर सफा हुन नसकेको हो।

उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रभावकारी योजना तर्जुमा गर्न नसक्दा घर, पसल तथा होटललगायतबाट निस्कने फोहोर सडकमै फाल्न स्थानीय बासिन्दा बाध्य छन्। 

प्रदेश-२ को अस्थायी राजधानी घोषणा भइसकेको जनकपुरमा अहिलेसम्म दुई ट्रयाक्टरको भरमा जेनतेन फोहोर उठाउने काम भइरहेको छ। त्यसैगरी, उपमहानगरपालिका कार्यालयसँग फोहोर उठाउन एउटा ट्रिपर मात्र रहेको कार्यालयका जिन्सी शाखा प्रमुख ललन कर्णले बताए। क्षेत्रफल र जनसंख्याको हिसाबले सरसफाइका लागि दुई ट्रयाक्टर पर्याप्त नरहेको उपमहानगरपालिकाका कर्मचारीहरू नै बताउँछन्।

 नगरप्रमुख चढ्न एक करोड ३८ लाखको गाडी खरिद गरेर आलोचना झेल्दै आइरहेको उपमहानगरपालिकामा अहिले महँगो गाडीभन्दा फोहोर व्यवस्थापन गर्न साधनस्रोत धेरै आवश्यक रहेको स्थानीय बासिन्दा बताउँछन्। 

२० वर्षअघि ल्याइएका दुई ट्रयाक्टर र एक ट्रिपर पनि थोत्रो भएर काम नलाग्ने भइसकेपछि फोहोर व्यवस्थापनमा समस्या हुने गरेको एक सफाइ कर्मचारीले बताए। उपमहानगरपालिकाले ०५५ सालयता ट्रयाक्टर र ट्रिपरलगायत सरसफाइसम्बन्धी आवश्यक साधनस्रोत भित्र्याउन सकेको छैन। २० वर्षअघि भारतको दिल्ली महानगरपालिकाले उपलब्ध गराएका दुई ट्रयाक्टर र एक ट्रिपरको भरमा फोहोर व्यवस्थापन हुँदै आएको छ। तर, काम नलाग्ने भइसकेपछि लिलामी गर्ने तयारी भइरहेको जनाइएको छ।

पछिल्लो पटक एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गत् उपमहानगरपालिकालाई दुई ट्रयाक्टर उपलब्ध गराइएको छ। र, त्यसकै भरमा फोहोर व्यवस्थापन हुँदै आएको छ।
 
केन्द्र र प्रदेश सरकारबाट अनुदान प्राप्त गरे पनि उपमहानगरपालिकाले आफ्नै स्रोतसाधनमा खरिद नगरी सरसफाइका लागि दुई ट्रयाक्टर र एक टिपर भाडामा लिएर कामगर्दै आइरहेको कर्णले बताए।
 
पुरानो नगरपालिकामध्ये एक रहेको जनकपुर उपमहानगरपालिकाले आफ्नो एम्बुलेन्ससमेत सञ्चालन गर्न सकेको छैन। उपमहानगरपालिकासँग एक एम्बुलेन्स रहे पनि बिग्रेर थन्किरहेको उपप्रमुख रीता झाले बताइन्। जनकपुर उपमहानगरपालिकासँग एउटा मात्र वारुणयन्त्र छ। विगतमा १६ वडा रहे पनि छेउछाउका गाविसहरूलाई समावेश गरी उपमहानगरपालिका घोषणा गरिएपछि अहिले २५ वडा कायम गरिएको छ। झण्डै एक सय वर्ग किलोमिटरमा फैलिएको उपमहानगरपालिकाको जनसंख्या करिब दुर्इ लाख छ। उपमहानगरपालिकाभित्र दैनिक १७ मेट्रिकटन फोहोर निस्कने गरेको छ। 

करिब ५५ सफाइ कर्मचारीमा उपमहानगरपालिकाले बर्सेनि करोडौं खर्चिंदै आए पनि सकारात्मक परिणाम भने आउन सकेको छैन। 

उपमहानगरपालिकाले गत आर्थिक वर्ष सरसफाइ कर्मचारीको तलबमा एक करोड ६६ लाख, महँगी भत्तामा १९ लाख ८८ हजार, सफाइ कर्मचारीको बीमामा एक लाख दुर्इ सय, पोशाकमा तीन लाख ६० हजार, सफाइ साधनको इन्धनमा २२ लाख नौ हजार, सफाइ औजार तथा सामग्री खरिद गर्न १२ लाख ६१ हजार रुपैयाँ खर्च भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।