बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा केसीलार्इ जबरजस्ती काठमाडौं ल्याएर सरकार किन मौन ?

डा केसीलार्इ जबरजस्ती काठमाडौं ल्याएर सरकार किन मौन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आ-आफ्नो अडानका कारण सरकार-केसीपक्षको तीनपटकको वार्ता निष्कर्षविहिन भएपछि एकाएक सरकारले डा गोविन्द केसीलार्इ जसरी पनि काठमाडौं ल्याउन निर्देशन जारी गर्‍यो। 

सोही निर्देशनबमोजिम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको टोलीसहित नेपागन्जबाट नेपाली सेनाको हेलकोप्टर जुम्ला पुग्यो। डा केसीका समर्थकले जुम्लामा केसी लिन टोली आइरहेको सूचना पाउनासाथ कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानमा अवरोध गरे। डा केसीलार्इ काठमाडौं लैजान नदिने अडानमा उनीहरु रहे र डा केसीले पनि काठमाडौं नजाने अडान नै दोहोर्‍याए।

एकातिर सरकारले जसरी पनि काठमाडौं ल्याउन निर्देशन दिएको छ भने अर्कोतिर केसी समर्थकले सरकारी टोलीलार्इ अस्पताल परिसरमा छिर्न पनि दिएको छैन। यही अडानका माझ प्रहरीले संकटमा पर्‍यो र एक्कासी स्थानीय, चिकित्सक र विद्यार्थीमाथि लाठीचार्ज गर्न पुग्यो। त्यसले पनि नभएपछि प्रहरीले गोली चलाएको भनिएको छ। जसबाट एक जना प्रहरी जवान कमल उपाध्यायको छातिमा गोली लाग्यो र उनी त्यही ढले। 

जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा तपन कुमार दाहालले माइकिङ् गरेर आफ्नो एकजना साथीको मृत्यु भइसकेको अब जे पनि हुनसक्ने बताएपछि भिड तितरवितर भयो। डा केसी काठमाडौं नगए, थप गोली चलाउने र अस्पतालमा आगो लगाउनेसम्मका धम्कीहरु सुनेपछि अन्तत: डा केसी काठमाडौं आउन बाध्य भए। डा केसीले 'जुम्लाका जनतालार्इ नमार्नुस् म काठमाडौं जान तयार छु' भन्ने अभिव्यक्ति दिए। 

त्यसपछि जुम्लाका जनताले आँखाबाट आँशु खसाल्दै डा केसीलार्इ माला लगाएर सम्मान व्यक्त गर्दै जुम्लाबाट विदा गरे। नेपाली सेनाको हेलिकोप्टर डा केसीलार्इ ल्याएर काठमाडौंका लागि उड्यो। हेलीकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिने सूचना प्रवाह पश्चात त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको चिकित्सकसहितको एम्बुलेन्स त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ भयो। तर, डा केसीलार्इ टुँडिखेलमा ओरालियो र शिक्षण अस्पताल लगियो। 

डा केसीले संसदमा पेस भएको माफिया पोस्ने चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशलार्इ नै विधेयकको रुपमा जस्ताको त्यस्तै पेस नगरेसम्म उपचार पनि नलिने अडान राखेपछि उनको स्वास्थ्यस्थिति थप कमजोर बन्दै गएको चिकित्सकले बताएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको पुरानै कक्षमा अनशन जारी राखेका डा केसीलाई छाती दुख्ने, श्वासप्रश्वासमा अप्ठेरो भइरहेको र पिसाब फेर्नसमेत सकस भएको उनका सहयोगी चिकित्सकले बताए। उनमा मांशपेसी बाउँडिने, वाकवाकी लाग्नेलगायत समस्या पनि देखा परेका छन्। पिसाब फेर्न शौचालय जान नसक्ने स्थिति छ। उनलार्इ सुतेकै स्थानमा दुई-तीन जनाले सहयोग गर्नुपर्ने स्थिति भएको उनका सहयोगीले बताए। जुम्लाबाट ल्याइएपछि पूर्णरूपमा स्वास्थ्य जाँच गर्नसमेत नमानेका डा. केसीको मुटुको चाल नाप्ने ईसीजी मनिटरसमेत अस्वीकार गरेका छन्।

डा. केसीको स्वास्थ्य कमजोर बन्दै गइरहे पनि सरकारले सत्याग्रहीका मागप्रति चासो देखाएको छैन। शनिबार बिहानसम्म सरकारका तर्फबाट उनलाई भेट्न कुनै प्रतिनिधि शिक्षण अस्पताल पुगेका छैनन्। यद्यपि, सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच समसामयिक विषयमा शुक्रबार राति अवेरसम्म बालुवाटारमा छलफल भएको स्रोतले बताएका छन्। डा केसी भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्दा दमन गर्ने दोषीहरूलाई कारबाही र संसद्मा दर्ता गरिएको अध्यादेश फिर्ता हुनुपर्ने ‘बटमलाइन’राखेका छन् ।

डा केसीले कर्मचारी सम्मिलित वार्ता टोलीसँग वार्ता गर्नुको औचित्य छैन भनेपछि सरकारी वार्ता टोली निष्क्रिय भएको थियो। सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो। संसद्मा दर्ता गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ फिर्ता लिन नसक्ने शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले यसअघि नै बताइसकेका छन्। 

सरकारी पक्षले भने केसीको नाममा वार्तामा बस्न आउनेहरूलाई विश्वास गर्ने आधार नभएकोले वार्ता स्थगित गरिएको प्रतिक्रिया दिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सरकारले केसीको स्वास्थ्य अवस्था सहज भएपछि वार्ता गर्ने जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले भने, 'सरकारको पहिलो प्रयास केसीको जीवन बचाउनु हो। स्वास्थ्य ठीक भएपछि केसीसँग सरकारले वार्ता थाल्नेछ।'

बीचका व्यक्ति वार्तामा बस्दा समस्या समाधानतर्फभन्दा राजनीतिमा बढी केन्द्रित भएको ठहर सरकारको छ। अर्यालले सरकारले सीधै केसीसँगै वार्ता गर्न वातावरण बनाइरहेको बताए। केसीसँग वार्ता गर्दा सरकारको वर्तमान वार्ताटोली पनि हुनेछैन। केसीले मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने बताइसकेकाले सरकार यही तयारीमा लागेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपाका नेता नारायणकाजी श्रेष्ठ अनौपचारिक तयारीमा लागिसकेको अर्यालले जानकारी दिए।

शुक्रबार डा. केसीलाई भेट्न अनशनस्थल पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानो अध्यादेश नै जस्ताको तस्तै पास गर्नुपर्ने भन्ने डा केसीको माग जायज भएकोले सम्बोधन गर्न सकारलार्इ आग्रह गरेका छन्। देउवाले डा केसीको जीवन बचाउनु सबैको कर्तव्य भएको र चिकित्सा शिक्षाको गुणस्तर कायम गरी सर्वोत्कृष्ट बनाउन डा केसीको अभियानलाई सहयोग गर्नुपर्ने खाँचो औंल्याए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।