काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सीबाट पुँजी पलायन भएको बताएका छन्। सूचना–प्रविधिमा भएको विकासले अर्थतन्त्रमा विकृति पनि भित्र्याएको उनले बताए।
बिहीबार बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री शर्माले डिजिटल तथा क्रिप्टोकरेन्सी, हाइपर फन्ड, बेटिङ ग्याम्बलिङ आदि सूचना प्रविधिले भित्र्याएका विकृति भएको बताएका हुन्। राज्यको मान्यता एकातिर भए पनि यी कारोबार हुने क्रम नरोकिएको उनले बताए। यसको नियमन र नियन्त्रण गर्न अध्यनन समिति बनाइएको उनको भनाइ छ।
हालैमात्र नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्किङ नेपालमा गैरकानुनी भएको र यसको प्रकृति नै गैरनियमन भएकाले सचेत रहन आग्रह गरेको थियो। यसले गर्दा अर्थव्यवस्था र जनजीवन नै प्रभावित हुने खतरा रहेको निष्कर्ष केन्द्रीय बैंकले निकालेको हो।
पछिल्लो समय नेपालमा पनि नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको छ। यसै सन्दर्भमा मंगलबार सार्वजनिक सन्देश जारी गर्दै राष्ट्र बैंकको गभर्नर कार्यालयले यी कारोबारले देशको अर्थतन्त्र मात्र नभएर लगानी गर्नेहरुको लगानी पनि जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको हो।