काठमाडौं– सरकारले बजेट खर्चको लक्ष्य घटाएको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटको आकार घटाएको हो।
वार्षिक बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएर १५ खर्ब ४६ अर्ब अर्थात् बनाइएको छ। वार्षिक बजेट ९४.७ प्रतिशत खर्च हुने मन्त्रालयको संशोधित अनुमान छ।
चालू खर्च १० खर्ब ३५ अर्ब, पुँजीगत तीन खर्ब ४१ अर्ब र वित्तीय व्यवस्थातर्फ एक खर्ब ४९ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ। यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटको आकार हालका मन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत करिब १५ अर्ब रुपैयाँ घटाएका थिए।
अर्थ मन्त्रालयले राजस्व र अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने बजेट लक्ष्य पनि घटाएको छ। अर्धवार्षिक समीक्षामा आर्थिक वृद्धिदर र मुद्रास्फीतिको दरमा भने संशोधन गरिएको छैन।
अर्थमन्त्री शर्माले स्थानीय तह निर्वाचनका लागि माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन्। चालू आर्थिक वर्षको बजेटको अर्थवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बिहीबार मन्त्री शर्माले चुनावका लागि बजेट व्यवस्थापन गर्न समस्या परेको बताएका हुन्।
‘वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ,’ अर्थमन्त्री शर्माले भने, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं। दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर कसरी हुन्छ खर्च जुटाउनुपर्ने छ।’
सरकारले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय निर्वाचनको मिति तोकेको छ।