काठमाडौं– आज बुधबार देशभर ७ जना मृत फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बाग्मती खोलामा नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरीको दाङको गढवा गाउँपालिका २ कोठरी गाउँ र महादेबाबीच रहेको राप्ती नदी किनारमा राप्ती गाउँपालिका ८ पिपरी बस्ने ४२ वर्षीय मिठु भन्ने कल्लु चौधरी मृत फेला परेका छन्। उनी सोमबारदेखि बेपत्ता थिए।
त्यसैगरी ललितपुर महानगरपालिका १ कुपण्डोल डेरा गरी बस्ने रामेछाप गोकुलगंगा घर भएका २९ वर्षीय ज्ञान बहादुर तामाङ सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
उता सल्यानको छत्रेश्वरी गाउँपालिका ३ दारिमज्युला बस्ने ६३ वर्षीय दुर्गा बहादुर बुढाथोकी पनि सोही गाउँपालिकास्थित जयचौर जाने बाटोमुनि खेतमा मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी रौतहटको ईशनाथ नगरपालिका ४ मठियास्थित गहुँ खेतमा सोही नगरपालिका ९ लौतना टोल बस्ने १९ वर्षीया चाँदनी खातुन मृत फेला परेकी छन्।
डोटीको जोरायल गाउँपालिका १ गोगनपानीस्थित जंगलमा डडेलधुरा आलिताल गाउँपालिका १ तिमुली बस्ने १६ वर्षीय भानुभक्त नाथ पनि बुधबार नै मृत अवस्थामा फेला परेका छन्। पिपलमारी भन्ने स्थानमा विवाहमा गएकोमा फर्केर नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फेला परेको हो।
नुवाकोटको विदुर नगरपालिका ९ दोभानमा पनि नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सबै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।