काठमाडौं– न बिर्सें तिमीलाई बोलको नयाँ भर्सनमा सार्वजनिक भएको गीतका वास्तविक गायकगायिका अञ्जु पन्त र जगदीश समालको नाम नसमेटिएको भन्दै चौतर्फी आलोचना हुन थालेपछि गीतकार विपिन किरणले उनीहरुको नाम समावेश गर्ने भएका छन्।
२०६४ सालमा रेकर्ड भएको यो गीतको सर्वाधिकार निर्माता विपिन किरणसँग छ। किरणले वास्तविक कलाकारको नाम राख्न कुनै आपत्ति नरहेको नेपाल समयसँग बताए। उनले भने, ‘नाम राख्न कुनै आपत्ति होइन, २०६४ सालमा रेकर्डिङ गरेको पहिलेको भिडियोमा त उहाँहरुको नाम छ नै।’
‘ओरिजिनल गीतको डुब्लिकेट बनाएको होइन। मेलोडी या ट्र्याक बदलिएको छैन, केवल नयाँ स्वरमा पुनः रेकर्डिङ गरेको मात्रै हो। रिमेक र कभर फरक कुरा हो भन्ने सरसल्लाह गरेपछि मैले नाम मेन्सन नगरेको हो।’
हुन त विपिनले अञ्जुलाई नयाँ भर्सन गाउनका लागि अनुरोध पनि गरेका थिए। यो कुरा अञ्जुले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्। समय अभावका कारण उनीहरुसँग सहकार्य हुन सकेन। पछि सरसल्लाह गरेर नयाँ पुस्तालाई गाउन दिने भएपछि रचनाले स्वर दिएकी हुन्।
तर, विपिनले किरण क्रिएसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा वास्तविक गायकगायिकाको नाम नराखेर अग्रज कलाकारको सम्मान नगरेको आरोप लाग्यो। यतिमात्रै होइन, अञ्जुले समेत नाम नराखेकोमा कलाकारको अपमान भएको दुखेसो पोखिन्।
अब ‘२०६४ सालमा अञ्जु पन्त र जगदीश हमालको स्वरमा रेकर्ड गरिएको न बिर्सें तिमीलाई पुनः रेकर्डिङ गरेर रचना रिमाल भर्सनमा ल्याएका छौं’ भनेर नाम समावेश गर्ने विपिनले नेपाल समयलाई बताए। उनले भने, ‘उहाँहरुको नाम नहुनु खासै ठूलो मुद्दा होइन तर अब चारैतिरबाट नाम खोजिन्छ भने नाम मेन्सन गरिन्छ।’
आजै बिहानमात्रै अञ्जु पन्तले नयाँ भर्सनमा ओरिजिनल गायकगायिकाको नाम उल्लेख नगरी गीत सार्वजनिक गरेकोमा दुःख व्यक्त गरेकी थिइन्।