काठमाडौं- विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई गत सोमबार देखि बिहान सात बजेबाट सेवा प्रदान गर्दै आएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिएका छन्। पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि राहदानी विभाग, त्रिपुरेश्वरमा आइ सेवा लिन अनुरोध गरेको छ।
यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने अर्यालले बताएका छन्। नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको उनको भनाइ छ।
केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ। यस्तै राहदानी विभागमा सेवाग्राहीको संख्या बढी भएमा सबै भन्दा पुरानो बुकिङलाई पहिलो प्राथमिकता दिएको अर्यालले बताए।