काठमाडौं– गायिका अन्जु पन्तले ‘नबिर्से तिमीलाई’ बोलको नयाँ भर्सनमा वास्तविक गायक/गायिकाको नाम उल्लेख नगरिनु दुखद् भएको बताएकी छन्। आफ्नो र गायक जगदीश समालको स्वरमा रहेको उक्त गीतको नयाँ भर्सनमा रचना रिमालको स्वर छ। उक्त गीतको नयाँ भर्सनमा आफूहरूको नाम नसमेटिएको भन्दै उनले दुःख व्यक्त गरेकी हुन्।
‘उही संगीत, उही एरेन्जमेन्ट। तर, गायिका नयाँ भए पनि वास्तविक गायिका अन्जु पन्त र जगदीश समालको नाम नराखिदिएर कलाकारको अपमान तथा अन्याय गरेको अनुभूति भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
भर्खरै पुनःरेकर्ड भएर युट्युबमा सार्वजनिक उक्त गीत नयाँ भर्सनमा आएको थाहा पाए पनि गीतमा आफूहरूको नाम नै नसमेटिनु दुखद् भएको उनको धारणा छ। ‘यसपछि धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा मलाई माया गर्ने शुभचिन्तकहरूले जिज्ञासा र चिन्ता व्यक्त गर्नुभएको पाएँ। हाल म काम विशेषले विदेशमा भएको कारणले तुरुन्तै प्रतिक्रिया जनाउन सकिन। यसप्रति क्षमा प्रार्थी छु,’ उनले भनिन्।
अन्जु पन्तले स्वर दिएको गीतका सर्जक विपिन किरण हुन्। गीतमा संगीत महेश खड्का, एरेन्ज किरण कँडेल, रेकर्डिङ शम्भु तन्डुकार र महेश्वर राजभण्डारीको मिक्सिङ रहेको थियो। अन्जु पन्तको स्वरबाट नेपाली सांगीत जगतमा अति नै लोकप्रियता हासिल गरिसकेपछि यो गीत मेल भर्सनमा गायक जगदीश समालले पनि गाएका थिए। उनको स्वरलाई पनि स्रोताले उत्तिकै माया गरेका थिए।
नयाँ भर्सनमा गाइएको विषयमा केही बोल्न नचाहेको बताए पनि गायिका पन्तले आफूहरूको नाम नै हटाइनु गलत भएको धारणा सार्वजनिक गरेकी हुन्। ‘केही समयअघि विपिन किरणले यो गजलको नयाँ एरेन्जमा मेरै आवाजमा पुनःरेकर्ड गर्ने कुरा गर्नुभएको थियो। सोही अनुसार महाराज थापाले नयाँ एरेन्ज गरेर मलाई पठाइएको थियो। यहाँ त हामीलाई थाहै नदिएर हाम्रो नाम नै नराखी अरूले नै गाइसकेछन्,’ उनले भनिन्।
उनले आफूहरूले समयानुकूल उक्त गीतको पुनः रेकर्ड गर्ने योजनामा रहेको समेत खुलासा गरेकी छन्। ‘यसै क्रममा उहाँ (विपिन किरण)ले कभर गीतको रूपमा किड्स भर्सनमा नयाँ भाइबहिनीलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो। र, मैले खुसीसाथ हुन्छ भनेकी थिएँ। तर, उही संगीत, उही एरेन्जमेन्ट नयाँ भर्सनमा हामीहरूको नामै हटाएर आउनु दुखद् हो।’
उनले एक गीत र व्यक्तिको भन्दा पनि गलत रूपमा विकास भइरहेको संस्कृतिको बारेमा बोल्न चाहेको बताएकी छिन्। ‘यसरी हामी कुनै दिन संगीत र कलाकारलाई दिने सम्मान तथा आदरको संस्कार भुल्ने त होइनौं भन्ने चिन्तासमेत लागेको छ। आशा छ सम्बन्धित पक्षले यो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनुभन्दा दर्शक श्रोताको माग अनुसार समाधानको उपाय निकाल्नु हुनेछ भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्,’ उनले धारणा सार्वजनिक गर्दै भनेकी छन्।