काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले नेपालमा रेडक्रस कानुन बनाउन सरकारसँग आग्रह गरेका छन्।
नेपाल भ्रमणका क्रममा रहेका महासचिव चापागाईंले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेका हुन्। रेडक्रस कानुन बनाउनका लागि अन्तर्राष्ट्रिय रेडक्रस महासंघले सरकारलाई सहयोग गर्ने उनको भनाइ थियो।
यसैगरी महासचिव चापागाईंले सभामुख अग्निप्रसाद सापकोटाका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए। उनीहरूसँगको भेटमा पनि आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महासचिव चापागाईंले जानकारी दिए।
यसका साथै कोभिड–१९ विरुद्धको खोप र मानवीय सेवाका सहयोगका विषयमा पनि कुराकानी भएको चापागाईंले जानकारी दिए।
'मैले नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छु। छिट्टै समाधान निस्कनेमा म आशावादी छु,' महासचिव चापागाईंले भने, 'आगामी दिनमा रेडक्रसलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ। यसका लागि नेपाल सरकारलाई आईएफआरसीले आवश्यक सहयोग पुर्याउँछ।'
माघ १८ गते नेपाल आएका उनले भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिका बारेमा समेत जानकारी लिएका थिए।
विश्वका १९२ देश आइएफआरसीका सदस्य छन्। आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको गभर्निङ बोर्ड बैठकले एसियाबाटै पहिलोपटक उनलाई बहुमतबाट महासचिव पदमा निर्वाचित गरेको थियो। उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्।
महासचिवको जिम्मेवारी सम्हालेपछि चापागाईं पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। नेपाल भ्रमण पूरा गरी महासचिव मंगलबार नै श्रीलङ्कातर्फ प्रस्थान गरेका छन्। -रासस