कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दुई वर्ष अगाडिदेखि शैक्षिक कार्यक्रम सुरु गरेको छ। गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पतालसहितको प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने योजना बनेको छ। प्रतिष्ठानले २०८० सालदेखि एमबीबीएसका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। त्यस्तै, अस्पतालमा पनि विभिन्न नयाँ विशिष्टीकृत सेवाहरु थप गर्ने तयारी भएको छ। खासगरी एमबीबीएस कक्षा सञ्चालनको लागि प्रतिष्ठानको योजना कस्तो छ? अस्पताल र प्रतिष्ठान कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीसँग नेपाल समयले गरेको कुारकानीः
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रिय अस्पताल कसरी सञ्चालन भइरहेको छ?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतकै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हो। प्रतिष्ठान र अस्पताल छुट्टाछुट्टै होइन। हाम्रो मुख्य गतिविधि स्वास्थ्य सेवा प्रदान गर्ने र शैक्षिक गतिविधि सञ्चालन पनि यहि क्षेत्रिय अस्पतालबाट भइरहेको छ। पिजीका सबै कार्यक्रमहरु सञ्चालन भएका छन् भने डिन कार्यालय र उपकुलपतिको कार्यालय, पदपूर्ति समिति र आईएससी रिसर्चसम्बन्धी अफिस सबै यहिँ छन्। विद्यार्थीलाई तालिम, ओरिएन्टेसन, थेसिस गाइड लगाएत अन्य सबै गतिविधिहरु अस्पतालबाटै गरिरहेका छौँ। त्यसैले यो एउटा छुट्टै इकाइ होइन, यो एउटा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल प्रतिष्ठानकै अस्प्ताल हो।
प्रतिष्ठान स्थापनापश्चात पदाधिकारी आएर कार्यान्वायनमा गएको साढे ४ वर्ष भइसक्यो। यो अवधिमा कस्ता कार्यक्रम सञ्चालन भएका छन्?
अहिले हाम्रो शैक्षिक कार्यक्रमहरुमा पोस्ट ग्य्राजुएट (पिजी) कार्यक्रम मात्रै सञ्चालनमा छ। २ बर्ष अगाडि सुरु भएको कार्यक्रममा पहिलो बर्षमा १७ जना विभिन्न विद्यामा पिजीको विद्यार्थीहरु सहभागी भएका थिए। उनीहरु पासआउट हुनको लागि १ बर्ष बाँकी छ। त्यतिबेला चिकित्सा शिक्षा आयोगले इन्ट्रान्स लिने गरेको थिएन, त्यसैले पहिलो इन्ट्रान्स पनि यहिँबाट भएको थियो। दोस्रोमा चिकित्सा शिक्षा आयोगले नै इन्ट्रान्स लियो, त्यो बेला २६ जना र तेस्रो बर्षमा हाल ३३ जना विद्यार्थीको सिट पाएका छौं। विभिन्न ९ वटा विधामा ३३ जना विद्यार्थीहरु छन्।
हालसम्म प्रतिष्ठानमा एनेस्थेसिया, सर्जरी, गाइनो, इएनन्टी, मेडिसिन, प्याथोलोजी, रेडियोलोजी, पेडियाट्रिक्स र अर्थोपेडिक्स गरी ९ वटा विधामा कार्यक्रम सञ्चालन भएका छन्। नाक कान घाँटी र प्याथोलोजीको नयाँ शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको छ।
एमबीबीएस कार्यक्रमको लागि योजना के छ?
एमबीबीएस कार्यक्रमको लागि सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नेगरी सरकारी स्तरकै मेडिकल कलेज चाहिन्छ भन्ने निर्णय गरिसकेको छ। जस अन्तर्गत गण्डकी प्रदेशमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने सर्कुलर भइसकेको छ। सिनेटले पनि २०८० सम्ममा विएसी नर्सिङ र एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। त्यस अनुकूलको काम गर्न हामीले पूर्वाधार निर्माण गर्न लागिरहेका छौं। यसको लागि हामीसँग ६२ रोपनी जग्गा तय भइसकेको छ।
त्यसमा आवास, छात्राबास र एकेडेमिक भवन बनाउने भनेर थ्रीडी म्याप बनाएर पेश गरिसकेका छौं। त्यसको लागि साढे ३ अर्ब जतिको बजेट अनुमान गरेका छौं। २०८० आउन अब एक वर्ष बाँकी छ, त्यसैले त्यतिबेलासम्मको लागि प्रतिष्ठानको इमर्जेन्सी विल्डिङमा ५ तला थप्ने योजना छ। अर्को स्थायी संरचना नबनेसम्म केही बर्ष हामीले त्यहिँबाट एमबीबीएसका कार्यक्रम सञ्चालन गर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योजना पेश गरिसकेका छौं।
एमबीबीएस कार्यक्रमको लागि सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालन गर्नेगरी सरकारी स्तरकै मेडिकल कलेज चाहिन्छ भन्ने निर्णय गरिसकेको छ। जस अन्तर्गत गण्डकी प्रदेशमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने सर्कुलर भइसकेको छ।
प्रतिष्ठानमा कर्मचारीको परिचालन कसरी भइरहेको छ?
प्रतिष्ठानमा हाल दुई किसीमका कर्मचारीहरु छन्– नेपाल सरकारका स्थायी नियुक्ति भएका र प्रतिष्ठानका। हाल अधिकांश चिकित्सकहरु सरकारमार्फत आएका छन् र थोरै मात्रामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका छन् । तर कर्मचारीको अनुपात भने आधा आधा छ। ५० प्रतिशत सरकारबाट र ५० प्रतिशत प्रतिष्ठानका छन्।
अहिले न्याम्समा दुईखाले कर्मचारी हुनु नै टाउको दुखाइको विषय बनेको छ। यस प्रतिष्ठानमा पनि समस्या देखिएला नि?
पोखरामा हालसम्म दुईखाले कर्मचारीकै कारण कुनै समस्या भोग्नुपरेको छैन। तर यसको विस्तार हुँदै जाँदा हामीकहाँ पनि त्यस्तो समस्या नआउला भन्न सकिँदैन तर हालसम्म कसैले पनि कर्मचारीको इस्यू बनाएर समस्या बनाएका छैनन्।
तत्कालको लागि हामीले आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको सम्पूर्ण कर्मचारीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश गर्न सक्दैनौं। किनकी समायोजन गर्नेवित्तिकै हामीलाई आर्थिक भार चाँडै पर्छ। सरकारको स्थायी कर्मचारीलाई दिने सुविधा सम्पूर्ण दिनुपर्छ। स्थायी कर्मचारीले पाउने पेन्सन, उपदान लगाएत स्थायी कर्मचारीले पाउने सम्पूर्ण सुविधा दिनुपर्छ। त्यो सबै प्रतिष्ठानले सेवा शुल्कबाट लिएको आर्थिक आयबाट दिनुपर्छ। हाल हाम्रोमा सेवा शुल्क पनि न्युन छ धेरैजसो गरिब जनता उपचारको लागि आउँछन्, हाम्रो आर्थिक आम्दानी प्रतिष्ठानको कम छ। अहिले करारमा भएका कर्मचारीले प्रतिष्ठानका कर्मचारीहरुलाई नै तलब खुवाउन हम्मेहम्मे परेको अवस्था छ।
सरकारी कर्मचारी ल्याउँदा उनीहरुलाई नियमित अवकास हुँदा उपदान दिनुपर्यो, उपचार खर्च, बिदाको पैसा लगाएत सबै खर्च गर्दा ठूलो मात्रामा खर्च दिन सक्दैनौं तर केही समयपछि सम्भावना छ। अर्को कुरा हाम्रो ऐन अनुसार नेपाल सरकारका स्थायी कर्मचारीहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन चाहेमा ६ महिनाभित्र आवदेन दिएर स्वास्थ्य मन्त्रालयले अनुमति दिएमा आउन सक्ने प्रावधान छ। यो प्रावधानका लागि केही समय अगाडि सूचना पनि निकालिएको थियो। त्यसैलाई आधार मानेर जम्मा एक जना मात्रै रेडियोग्राफर समायोजीत भएर प्रतिष्ठानमा आउनुभएको छ। अरु कसैले निवेदन दिएका छैनन्।
अझै पश्चिमाञ्चल क्षेत्रिय अस्पताल नै नाम राखिएको छ, किन?
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्थापना र सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सकिने भनिएको छ। विद्यमान कानुन अनुसार स्थापित भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालको रुपमा स्थापना भएको मानिने भनिएको छ। जसको मतलब अब हामीले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको नाम फेर्नैपर्छ भन्ने जरुरी छैन। तरपनि हामीले यसबारे सिनेटमा प्रस्ताव पनि लैजान्छौं। नामाकरण गर्नपरेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान टिचिङ अस्पताल भनेर लैजाने कुरा भएको छ। किनकी शैक्षिक कार्यक्रम भएका अन्य अस्पतालको नाम पनि टिचिङ अस्पताल नै रहेको छ। यदि सिनेटबाट पास भयो भने त्यसै अनुसार गरौंला। तर सिनेटले पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ऐतिहासीक नाम हो, यसलाई किन मेट्ने भन्ने किसीमको कुरा आयो भने यथावत नै रहन्छ।
अस्पतालका सेवाहरु कसरी सञ्चालन भइरहेका छन्?
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी प्रदेशको संघीय अस्पताल पनि हो। हाल अस्पतालमा ५ सय बेड सञ्चालनमा छन्। कोभिड अगाडि १८ सयको हाराहारीमा बिरामीहरु ओपिडिमा आउने गरेकोमा हाल १३ सयको हाराहारीमा बिरामी आउने गरेका छन्।
नयाँ सेवाहरु सञ्चालन गर्न लागेसँगै स्वास्थ्य सेवासँगै अध्ययन अध्यापन गराउने प्रतिष्ठानसमेत भएको हुँदा जनशक्ति थप आवश्यक रहेको छ। अस्पतालमा ग्यास्ट्रोलोजी, नेफ्रोलोजी, कार्डियोलोजी सेवाहरु सञ्चालन ल्याइएका छन्। अबको योजना क्याथ ल्याब सञ्चालनको तयारी भइरहेको छ भने किड्नी ट्रान्सप्लान्टको सेवा यहि आर्थिक वर्षबाट गर्ने तयारी भइरहेको छ। क्याथल्याबका लागि हामीसँग कार्डियोलोजीस्ट हुनुहुन्छ, एन्जियोग्राफीका लागि त्यती समस्या हुँदैन तर एन्जियोप्लास्टीका लागि हामीले सहिद गंगालाल हृदयरोग केन्द्रसँग समन्वय गरेर सञ्चालन गर्ने तयारी गरिएको छ।
त्यस्तै किड्नी ट्रान्सप्लान्टका लागि धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रसँग सम्झौता भएको छ। अझै प्रसुति सेवाका लागि १ सय ३० जति बेड सञ्चालनमा थियो त्यसले नपुगेर २०० बेड सञ्चालन गर्ने तयारीमा छौं। सेवा विस्तार, अध्ययन—अनुसन्धानका लागि जनशक्तिको अपुग रहेकाले ३९८ दरबन्दी थप्ने तयारी भएको छ जसको लागि प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ।