काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एमसीसीलाई लेखेको पत्रबारे स्पष्टीकरण दिएका छन्। प्रचण्डको सचिवालयले सार्वजनिक गरेको स्पष्टीकरणमा नेतृत्वको कूटनीतिक पहललाई गलत रूपमा व्याख्या गर्नु र उचाल्नुको अर्थ नभएको उल्लेख गरिएको छ।
'राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,' प्रचण्डको सचिवालयले सार्वजनिक गरेको पत्रमा उल्लेख छ।
एमसिसी मुख्यालयलाई लेखिएको पत्र र त्यसबारे राजनीतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयको भनाइ छ। एमसीसी परिमार्जन बिना पारित गर्नु नहुनेमा आफ्नो पार्टी दृढ रहेको पनि पत्रमा उल्लेख छ।
प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग फैलिएको छ। यसअघि प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताउँदै आएका थिए। तर एमसीसीलाई गत सेप्टेम्बर २९ मा पठाएको पत्रमा पारित गर्नका लागि ५ महिनाको समय मागिएको छ।
यस्तो छ प्रष्टीकरण
अध्यक्ष कमरेड प्रचण्डको सचिवालय एमसिसीलाई लेखेको पत्रबारे प्रस्टीकरण : २९ सेप्टेम्बर २०२१ मा एमसिसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
प्रतिगमनलाई परास्त गरी भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसिसी का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केही समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो।
देशमा एकातिर एमसिसीबारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले एमसिसी बारे गठन गरेको कार्यदलले पनि यसलाई "परिमार्जन बिना पारित गर्न नसकिने" निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन।
यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन। हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं।
यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारबाजीको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ति र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं।