काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी स्वीकार नगरिने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई पठाएको प्रतिवद्धतापत्र सार्वजनिक भएपछि श्रष्ठले यस्तो प्रस्टीकरण दिएका हुन्।
उनले ट्विट गर्दै भनेका छन्, ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिनेछैन।’
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी संसद्बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता व्यक्त गरेको पत्र आइतबार सार्वजनिक भएको थियो।
देउवा र प्रचण्डले एमसीसीलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धतापत्र गएको सेप्टेम्बरमा पठाएका थिए। पत्रमा फेब्रुअरी २८ अर्थात् आगामी फागुन १६ गतेभित्रै एमसीसी पारित गराउने उल्लेख छ। सोही पत्रबारे स्मरण गराउँदै गएको शुक्रबार एमसीसीले सरकारलाई पत्र पठाएको छ।
शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै चाँडो एमसीसी अनुमोदन गर्न भनिएको छ।
्प्रम देउवा र अध्यक्ष क•प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकार गरिनेछैन।
— NKShresthaPrakash (@nksthaprakash) February 6, 2022