काठमाडौं- प्रेमसँगै आउने भएकाले 'वाचा, कसम र प्रतिबद्धता प्रेमका पर्याय हुन्'भन्दा अत्युक्ति नहोला। प्रेमकथा वियोगान्त नहोस् भनेर समर्पण र प्रतिबद्धता व्यक्त गरिन्छ प्रेमीहरूबीच। यिनै समर्पण र वाचा कसमहरूलाई शब्द उतारेका छन् गीतकार सागर बास्तोलाले।
प्रेममा वास्तविकता त हुन्छ नै, प्रेमी/प्रेमिकाबीच साटासाट गर्न वास्तविकता मात्र पर्याप्त भइदिँदैन। कल्पनामा पनि डुबाउने प्रेमले र असम्भव लाग्ने विषयलाई पनि पनि नाजायज ठान्दैन।
भावना प्रधान हुने प्रेममा वास्तविकताभन्दा परका कुरा व्यक्त गरेपनि त्यसले प्रेमलाई कमजोर बनाउँदैन, बरु मजबुती प्रदान गरेको हुन्छ। यसै पक्षलाई गीतमा समावेश गरेका छन् बास्तोलाले।
प्रेमी :
तिमी हिँड्ने बाटोभरि
फुलैफूलले सजाइदिउँला।
प्रेमिका :
मेरो खाली खाली मनमा
मायाले भरिदियौ
प्रेमी:
तिम्रो आँखामा आशु
म त झर्न दिन्न
वरु तिम्रो साटो म रोउँला
प्रेमिका :
मेरो खाली खाली मनमा
मायाले भरिदियौ ।।
गीतकार बास्तोलाले युगल प्रेमी/प्रेमिकाहरुका भावनालाई आफूले गीतका शब्दमा व्यक्त गर्न खोजेको बताए। 'प्रेममा बसेकाहरूका भावनालाई गीतका शब्दमा समावेश गर्ने प्रयास गरेको छु,' बास्तोलाले भने, 'कहिलेकाहीँ प्रेम कल्पनामा पनि रमाउँछ। आपसी विश्वास बलियो भयो भने असम्भव विषयले पनि प्रेमलाई बलियै बनाउने अनुभव गरेको पनि छु।'

प्रेमी/प्रेमिकाहरू (बादल श्रेष्ठ/सुस्मिता श्रेष्ठ)को डेटिङ सिनलाई गीतको भिडियोको विषयवस्तु बनाइएको छ। भिडियोमा उनीहरुले साटासाट गरेका भावनालाई मात्र समेटिएको छैन, भविष्यको सुन्दर कल्पना पनि गरिएको छ।
भिडियोको निर्देशन पत्रकार गिरि भुसालले गरेका हुन्। उनका अनुसार काठमाडौंभन्दा केही परका ग्रामीण क्षेत्रमा भिडियोको छायांकन गरिएको हो। भुसालले यसअघि पनि थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन्।
भिडियोमा प्रेमीकै भूमिका निभाएका बादल श्रेष्ठ स्वर पनि दिएका छन्। गायिका श्रद्धा दियालीले बादललाई स्वरमा साथ दिएकी छन्। सन्तोष प्रगाढको संगीत तथा एरेन्ज रहेको गीतको छायांकन तथा सम्पादन सरोज शाहीले गरेका छन्। बीजी इन्टरटेन्मेन्टले गीतको भिडियो बजारमा ल्याएको हो।