काठमाडौं- जुम्लाबाट बल प्रयोग गरी नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं ल्याइएका डा गोविन्द केसीलार्इ टुँडिखेलमा झारिएको छ।
डा केसीलाई टुँडिखेल झारेलग्तै उनलार्इ एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। एम्बुलेन्समा तीन जना चिकित्सकको टोली रहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा. केसीलाई लिनका लागि एम्बुलेन्ससहित चिकित्सकको एक टोली तयारी अवस्थामा भएपनि उनलार्इ टुँडिखेलमा ल्याण्ड गराइएको हो। नेपाली सेनाको एन ए ०३८ कल साइन भएको हेलिकोप्टरमा उनलार्इ सुर्खेतमा केही बेर रोकेर ल्याइएको हो।
डा. केसीलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स पनि टुँडिखेल पुगेको हो।
डा केसीले सरकारी हेलिकोप्टरमा जान अस्वीकार गरेपछि प्रहरीले थप गोली चलाउने धम्की दिएपछि डा केसी जुम्लाका जनताको रक्षाका लागि काठमाडौं आउन तयार भएका हुन्।
यसअघि प्रहरी चलाएको गोली लागेर घाइते भएका प्रहरी जवानको उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरबाट धेरै रगत बगेको छ।
त्यहाँ पर्याप्त रगत नभएकाले रगत खोजी भइरहेको छ। प्रहरीको लाठीचार्जबाट दर्जनौं केसी समर्थक चिकित्सक, विद्यार्थी तथा स्थानीय बासिन्दा घाइते भएका छन्। डा केसीलार्इ जबरजस्ती ल्याउने भएपछि स्थानीय बासिन्दाले माला लगाएर बिदाइ गरेका हुन्।
अहिले जुम्ला सदरमुकाम खलंगामा कर्फ्यू लगाइएको छ। डा केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै २० दिनदेखि अनशनमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४