आइतबार, वैशाख ७, २०८२

क्यान्सर : तथ्यांक छैन, ८० प्रतिशत खर्च उपचारभन्दा बाहिर

महाशाखाको तथ्यांकअनुसार एक जना क्यान्सर पीडितले १०३ दिनसम्म उपचार गर्न धाउनुपर्छ। जबकि यो काम ८ हप्तामा नै गर्न सम्भव छ। उपचार प्रणाली लामो हुँदा पीडितले खेप्नुपर्ने शारीरिक/मानसिक तनाव भइहाल्यो। परिवारको आर्थिक स्थितिमा भार थपिने गरेको छ।
 |  शनिबार, माघ २२, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, माघ २२, २०७८

vianetvianet

काठमाडौं- क्यान्सरको उपचारबारे जनचेतना फैलाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ। हरेक वर्ष नाराहरु फेरिन्छन्,नयाँ कार्यक्रमहरु बन्छन्,नितीगत निर्णयहरु हुँदै आएका छन्। तर क्यान्सरका बिरामीलाई न यी नारा थाहा हुन्छ, न कार्यक्रम, न नीतिगत व्यवस्था। थाहा हुन्छ त अभाव, उपचार गर्दा आइपर्ने झन्झट र सास्ती मात्र। 

triton college

क्यान्सरका बिरामीको उपचार सहजताका लागि देशले थुप्रै नीति बनाएको छ। राजनीतिक नेतृत्वसँगै लगभग नीति पनि फेरिन्छन्। तर यी नीति यतिसम्म असफल छन् कि क्यान्सर पीडितको तथ्यांकसम्म भेटाउन सकेका छैनन्। क्यान्सरका बिरामीहरुले सास्ती भोग्नुपरिरहेको कुरा स्वीकार गर्न सरकारी निकायलाई कुनै हिच्किचाहट छैन। असहज उपचार, अपर्याप्त अस्तपाल, उपकरणदेखि नीतिगत व्यवस्थासम्मको अभावैअभावले नेपालको क्यान्सर उपचार प्रणाली असरल्ल छ। 

विश्वमा नै मृत्युको दोस्रो कारण मानिने क्यान्सर पीडितको तथ्यांक नहुनु र खोज्न चासो पनि नदिइनुले दुखद् भएको सरोकारवालाहरू बताउँछन्। विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांक अनुसार  विश्वमा ९६ लाख मानिसको मृत्युको कारक क्यान्सर हो। यसमध्ये ७० प्रतिशत मृत्यु कम आय भएका देशमा मात्र हुने गरेको छ। संगठनका अनुसार सन् २००८ मा विश्वभर ६१ लाख क्यान्सरका बिरामी थिए। सन् २०१८ मा उक्त संख्या बढेर १ करोड १० लाख पुगेको छ। 

क्यान्सरको प्रमुख कारण सुर्तिजन्य पदार्थको सेवन भएकाले नेपालभित्र कारोबार, बिक्रिवितरण र सेवन नियन्त्रण गर्नुपर्ने अधिकांश सरोकारवालाको भनाइ छ। 

बिरामीलाई सास्ती

National life insurance

क्यान्सरको उपचार महँगो त छँदै छ, नेपालमा पहुँच पनि निकै कमजोर छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा क्यान्सरका बिरामी औसत २६२ किलोमिटर दूरी पार गरेर उपचारका लागि अस्पताल पुग्नुपर्छ। उपचारको लागि पर्याप्त अस्पताल नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको छ। 

क्यान्सर पीडितले लामो यात्रा गरेर अस्पताल पुग्नु मात्र समस्या होइन, उपकरण जनशक्ति अभावको कारण देखाउँदै उपचार अविधि पनि लामो हुने गरेको छ। महाशाखाको तथ्यांकअनुसार एक जना क्यान्सर पीडितले १०३ दिनसम्म उपचार गर्न धाउनुपर्छ। जबकि यो काम ८ हप्तामा नै गर्न सम्भव छ। उपचार प्रणाली लामो हुँदा पीडितले खेप्नुपर्ने शारीरिक/मानसिक तनाव भइहाल्यो। परिवारको आर्थिक स्थितिमा भार थपिने गरेको छ। 

सरकारले उपलब्ध गराउने रकम क्यान्सरका बिरामीका लागि धेरै कम भएको चिकित्सकहरू बताउँछन्।  नेपालमा ६० हजारभन्दा धेरै क्यान्सरका बिरामी भएको अनुमान छ। 

उपचार गर्न लामो समय लाग्दा औषधोपचारमा हुनेभन्दा बढी खर्च त अन्य सहायक कुरामा हुने गरेको छ। एक जना क्यान्सरका बिरामीको कुल उपचार खर्चमध्ये जम्मा २० प्रतिशत मात्रै क्यान्सरको औषधोपपचारमा खर्च हुन्छ। बाँकी ८० प्रतिशत यातायात, खाना, आवास जान्छ। महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेल यो निकै संवेदनशील विषय भएको बताउँछन्। तर यस्ता असहजता सहजीकरण गर्ने विषयमा राज्य बेमतलबी देखिएको छ। 

‘क्यान्सरको उपचार महँगो छ। क्यान्सरका कारण मानिसको गरिबी बढ्दै गएको छ। समयमै रोगको पहिचान नहुनु, रोगको पहिचान हुँदासम्म क्यान्सरको अवस्था निकै भयावह भएर शरीरमा फैलिसकेको हुनु, उचित उपचार नहुनु र उपचारको पहुँच सीमितमा मात्रै हुनुले पनि नेपालमा क्यान्सरका बिरामीको जोखिम बढी छ,’ पौडेल भन्छन्। 

यता सरकारले विपन्न नागरिकको लागि ‘विपन्न नागरिक औषधि तथा उपचार’ कोष खडा गरी गम्भीर प्रकृतिका बिरामीको लागि १ लाख सहयोग पनि गरेको छ। तर यो रकम लिनको लागि पनि बिरामी/आफन्तलाई हम्मे पर्छ। हाल नेपालमा ११ हजारको हाराहारीमा बिरामीले यो सुविधा लिएको महाशाखाको तथ्यांक छ। 

सरकारले उपलब्ध गराउने रकम क्यान्सरका बिरामीका लागि धेरै कम भएको चिकित्सकहरू बताउँछन्।  नेपालमा ६० हजारभन्दा धेरै क्यान्सरका बिरामी भएको अनुमान छ। तर, आर्थिक वर्ष ०७५/०७६ मा १० हजार ९१० जनाले मात्रै विपन्न नागरिक औषधि उपचार कोषबाट एक लाख रुपैंया सहयोग पाएका छन्। 

राजनीतिक नेतृत्वका उपलब्धि सूची हेर्ने हो भने क्यान्सर रोगका विषय लगभग छुटेका हुँदैनन्। ती सूचीमा कतिपय नेतृत्वले नीति नै बनाएको उल्लेख गरेका छन् त कतिपयले सहजीकरणका लागि गरिएका विवरणको फेहरिस्त समावेश गरेका छन्। तर हालसम्म बनेका नीति वा प्रगतिका दाबी सबै अनुमानित तथ्यांकको खेस्रामा मात्र आधारित छन्। 

नियामकको यो कमजोरी सुधार गर्ने चासो कर्मचारीलाई न राजनीतिक नेतृत्वलाई। 'क्यान्सरका बिरामीलाई सहज उपचारका लागि निती आवश्यक पर्छ तर नीति बनाउनका लागि तथ्यांक नै छैन,’ पौडेल भन्छन्। 

रोग पहिचान भएपनि हुँदैन उपचार

नेपालमा मानिसहरु परीक्षणको लागि अस्पताल पुग्दैनन्, पुगेपनि क्यान्सर रोग पहिचान भएपछि बिरामीहरु उपचार नगराई घर फर्कन्छन्। बाल क्यान्सररोग विशेषज्ञ डा विष्णुरथ गिरीका अनुसार कान्ति बाल अस्पतालमा उपचारका लागि आएकामध्ये क्यान्सर रोग पहिचान भएपछि २० प्रतिशतभन्दा बढी त उपचार नगराई घर फर्कन्छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु उपचारबाटै बिमुख हुन्छन्। 'राजधानीमा बस्न, खान र उपचार गर्ने रकम कहाँबाट ल्याउने भन्दै घर फर्कन्छन्,' डा गिरिले भने, 'बालक्यान्सरको उपचार मध्यम वर्गमा मानिसहरुलाई पनि धान्न गाह्रो छ।'

७० प्रतिशत क्यान्सर बिरामीलाई उपचारको क्रममा रेडियसन थेरापीको आवश्यक हुन्छ। तर नेपालमा बिरामीका लागि उपकरण नहुँदा क्यान्सरको उपचारमा समस्या भएको उनले बताइन्। 

वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईंका अनुसार नेपालमा बर्सेनी २० हजार ५०५ नयाँ क्यान्सर रोगी भेटिन्छन्। जसमध्ये १३ हजार ६२९ जनाको मृत्यु हुन्छ। समयमै निदान गरी उपचार गर्न सके क्यान्सर रोग निको हुने डा. चापागाईं बताउँछिन्। '३० देखि ५० प्रतिशतसम्मको क्यान्सर रोकथाम गर्न सकिन्छ। यसका लागि व्यक्तिले आफ्नो जीवनशैली र खानपिनमा ध्यान दिनुपर्छ,' उनले भनिन्, 'रोग लाग्नुअघि यसको निदान गर्न आवश्यक छ। एक तिहाई क्यान्सर रोक्न सकिन्छ भने एक तिहाइको समयमै पहिचान भए पूर्णरुपमा निको पार्न सकिन्छ।’

चापागाईंका अनुसार नेपालमा नयाँ बिरमीहरु जति पहिचान भएको छ त्यसको आधाभन्दा बढी मृत्यु पनि हुने गरेको छ। हाल क्यान्सरबारे मानिसहरुलाई ज्ञान बढ्दै गएको छ, तर क्यान्सरका बिरामी झनै बढ्दै जाँदा यसको चुनौती थपिएको छ। रोकथामका कार्यक्रममा केन्द्रित हुनुपर्ने उनी बताउँछिन्। 

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन्, जसमध्ये फोक्सोका सबैभन्दा बढी २३ प्रतिशत छन्। यस्तै, पाठेघर मुखको क्यान्सरका १७, स्तन क्यान्सरका १५, पेटको क्कयान्सरका १०, घाँटी, अन्डाशय तथा मुत्रथैलीको क्यान्सरका ७–७, पित्ताशय तथा कलेजोका ५–५, र मलाशयको क्यान्सरका ४ प्रतिशत बिरामी छन्।

अस्पताल न उपकरण

नेपालमा जम्मा चार वटा जिल्लामा मात्र क्यान्सरको उपचार सेवा छ। काठमाडौं, भक्तपुर, चितवन र झापाका केही अस्पतालमा मात्रै क्यान्सरको उपचार हुन्छ। काठमाडौंको वीर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा क्यान्सर उपचार हुने गरेको छ। 

क्यान्सरका उपचार गर्ने न त पर्याप्त अस्पताल छन्, न त अस्पतालमा पर्याप्त उपकरण नै। पर्याप्त अस्पताल र उपकरण नहुँदा बिरामीको उपचार सेवा लम्बिने गरेको हो। दुई महिनामा सम्पूर्ण उपचार सकिनुपर्नेमा कति समय लाग्छ अस्पतालले नै भन्न सक्दैनन्। 

'क्यान्सरको उपचारका लागि रेडियसन थेरापी अर्थात् विकिरण पद्धति निकै महत्वपूर्ण हो,' डा चापागाईँ भन्छिन्, ‘नेपालमा यो उपकरण पर्याप्त छैनन्। डब्लूएचओको मापदण्ड अनुसार निम्न तथा मध्य आयस्तर भएका राष्ट्रमा १० लाख जनसंख्या बराबर कम्तीमा एउटा रेडियसन थेरापी मेसिन आवश्यक पर्छ। तर नेपालमा जम्मा ९–१० वटा मात्रै रेडियसन मेसिन छ।’ ७० प्रतिशत क्यान्सर बिरामीलाई उपचारको क्रममा रेडियसन थेरापीको आवश्यक हुन्छ। तर नेपालमा बिरामीका लागि उपकरण नहुँदा क्यान्सरको उपचारमा समस्या भएको उनले बताइन्। 

प्रत्येक प्रदेशमा क्यान्सर अस्पताल आवश्यक 

क्यान्सरको लागि बिरामीले सास्ती पाएको भन्दै स्वास्थ्यराज्यमन्त्री भवानीप्रसाद खापुङले प्रत्येक प्रदेशमा क्यान्सर अस्पताल आवश्यक रहेको बताएका छन्।  खापुङले क्यान्सरका बिरामीले उपचारका लागि सयौं किलोमिटर धाएर अस्पताल पुग्नुपर्ने भएकाले त्यो अवस्था आउन नदिन प्रत्येक प्रदेशमा एउटा क्यान्सर अस्पताल आवश्यक रहेको उनी बताउँछन्।

‘नेपालका उच्च तहका अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले क्यान्सरको उपचार थालनी गर्नुपर्छ र हरेक प्रदेशका मानिसले सोही प्रदेशमा उपचारको सुविधा पाउनुपर्छ,’ मन्त्री खापुङले भने। 

हाउगुजीको रुपमा नलिऔं, सचेत बनौं

नेपालमा क्यान्सरका धेरैजसो बिरामीहरु अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको विशेषज्ञहरु बताउँछन्। बिरामीहरु अन्तिम अवस्थमा पुग्ने भएकाले ५० प्रतिशत भन्दा बढी मानिसको मृत्यु हुने सरकारी तथ्यांक छ। क्यान्सरको प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुने क्यान्सर रोग विशेषज्ञ चापागाईं बताउँछिन्। 'मानिसहरुले क्यान्सरलाई एउटा हाउगुजीको रूपमा लिँदा पनि समस्या उत्पन्न भएको छ, बालक्यान्सर रोग विशेषज्ञ डा. गिरी भन्छन्, ‘क्यान्सरलाई हाउगुजीका रुपमा लिनु हुँदैन, समयमै अस्पताल आउँदा यो रोग पूर्ण रूपमा निको हुन्छ। जति ढिला भयो, त्यति नै क्यान्सरका बिरामीको मृत्यु हुने दर बढ्छ। त्यसैले रोगको पहिचान र स्वास्थ्य सचेतनामा विशेष ध्यान दिनु आवश्यक छ।’

प्रकाशित: Feb 05, 2022| 12:02 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्